नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असार ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित ईडीफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको माइक्रो भ्यानको ठक्करबाट सोही स्कुलमा अध्ययनरत काठमाडौं कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त भ्यानको ठक्करबाट घाइते भएका छ जना मध्ये पाँच जनाको नेपाल नेशनल अस्पतालमा र एक जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ भने दुर्घटनामा घाइते भएका भ्यान चालकको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ ।
त्यस्तै इलामको इलाम नगरपालिका-११ आलेस्थित सडकमा विर्तामोडबाट मंगलबारेतर्फ जाँदै गरेको प्र १-०१-००१ च ९७७८ नम्बरको पिकअप अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा पिकअपमा सवार देउमाई नगरपालिका-९ नवमी बजार बस्ने झापा घर भएका ३८ वर्षीय बिष्णु पराजुलीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पिकअप चालक समेत २ जनाको बिएण्डसि अस्पताल बिर्तामोड झापामा उपचार भइरहेको छ ।
यस्तै मोरङको ग्रामथान गाउँपालिका-५ तेतरीयास्थित सडकमा विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को.३३ प ६८१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-४ बस्ने २२ वर्षीय सुरज सरदारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

