नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असार ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रोल्पा, त्रिवेणी गाउँपालिका-४ निगालपानीस्थित सडकमा दाङबाट रोल्पाको लिङ्दुङतर्फ आउँदै गरेको रा.१ ख ३२२२ नम्बरको ट्रकले किचेर सोही नगरपालिका-३ छाप बस्ने ३२ वर्षीय गोपीलाल वलीको बिहीबार दिउँसो मृत्यु भएको छ ।
ट्रकले किचेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मोरङ, सुनवर्षी नगरपालिका-८ विश्वकर्मा चोकस्थित सडकमा को.१ त ६१९१ नम्बरको ट्याक्टरमा प्रदेश.१-०२-०४५ प ९१६३ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक रतुवामाई नगरपालिका-३ चौकी घाट बस्ने ४३ वर्षीय ढक्कुलाल गनगाईको मृत्यु भएको छ ।
बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै रूकुम पश्चिम, आठबिसकोट नगरपालिका-४ गोतामकोटस्थित सडकमा अन टेष्ट लेखिएको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ बस्ने कल्पना विककी छोरी ५ वर्षीया धन कुमारी विकको मृत्यु भएको छ ।
मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । उता सुनसरी, धरान उपमहानगरपालिका-८ सेउती पुल नजिकै सडकमा धरानबाट इटहरीतर्फ जाँदै गरेको रोलरमा प्र.१-०२-०४३ प ३३१५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-१९ तरहरा बस्ने ३८ वर्षीय सुरेश राईको मृत्यु भएको छ ।
बिहीबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिंङ होम विराटनगर मोरङमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार रोलर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

