नुवाकोटको कागती गाउँमा अविरल वर्षापछि बाढी : एक महिला बेपत्ता, तालिमप्राप्त कुकुरसहित खोजी कार्य जारी

नुवाकोटको ककनी गाउँपालिका–१ कागती गाउँमा गएराति आएको अविरल वर्षापछि आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको छ। बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन्।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार ककनी–१ भसीबुको बिमचना खोलाले बगाउँदा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन्। बाढीका कारण श्रीमान ३६ वर्षीय अशोक बलामी घाइते भएको र उपचारका लागि काठमाडौँ पठाइएको छ ।

बेपत्ता महिलाको खोजीका लागि बालम्बुमा रहेको पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखाबाट तालिमप्राप्त २ वटा कुकुरसहित ७ जनाको टोली घटनास्थलमा पठाइएको छ।

त्यस्तै, शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा बेस बञ्चरेडाँडाबाट ६५ जनाको टोली खटिएको हो।

प्रहरी तथा सुरक्षाकर्मीहरूले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। बाढीले कति क्षति पुर्‍यायो भन्ने विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार