

आफ्ना छोराछोरीका ससाना सफलतामा खुसी हुनु र त्यो खुसी बाँड्नु स्वाभाविक हो। म पनि त्यही गर्छु। यो प्रेमको अभिव्यक्ति हो। उनीहरूको सफलता आफैं र छोराछोरीको मेहनतको फल हो। राम्रो गरेको कुरा सुनाउँदा अरूलाई प्रेरणा पनि हुन्छ। तर परिस्थितिवश असफल हुनेलाई हिनताबोध पनि हुन सक्छ। छोराछोरीको सफलतामा उत्सव मनाएजस्तै, असफलतामा सान्त्वना र सहारा बन्न पनि जान्नुपर्छ । दुवै जीवनका पाटाहरू हुन्।
छोराछोरी जन्माउने र हुर्काउने काम सामान्य जीवन प्रक्रिया हो, तर यो एउटा दीर्घकालीन योजना पनि हो। यो जिम्मेवारी हो, कर्तव्य हो, र ठूलो प्रतिबद्धता पनि हो। सबैले आफ्ना सन्तानको लागि कुनै न कुनै रूपमा त्याग गरेका हुन्छन्।
अनुभवले भन्छ- छोराछोरीलाई जबरजस्ती बाटो लगाउनु हुँदैन। उनीहरूको रुचि र क्षमता अनुसार मार्गदर्शन गर्नु, मार्ग देखाउनु र उनीहरूलाई आफैं बाटो छान्न दिनु नै बुद्धिमानी हो। उनीहरूले जे-जस्तो बाटो रोजे वा जीवन विकास गरे पनि त्यसलाई स्वीकार गर्नुको विकल्प छैन। मानिसलाई डिजाइन गरेर आफूले चाहेको जस्तो बनाउनु गाह्रो कुरा हो। प्रयास त सबै गर्छन नोबेल पुरस्कार पाओस, बिल गेट्स, एलन मस्क वा अम्बानी बनोस…, तर सबै कुरा सम्भव कहाँ हुन्छ र ?
लाग्छ, जन्मदानै जीवनको रुपरेखा कोरिएर आउँछ मान्छे। एउटै रुखका हांगाहरूको पनि भिन्न विकास हुन्छ। केही फल नमिठा पनि हुन्छन्, केही कुहिन्छन् पनि। कतिपय कुरा संयोग, भाग्य वा अस्तित्वगत पनि हुन्छन्। सबै कुरा कर्म र सोचले मात्र हुँदैन। नकारात्मक र भाग्यबादी कुरो पनि होईन यो !
मलाई लाग्छ, आफ्ना छोराछोरीप्रति अत्यधिक महत्वाकांक्षा राख्नु उपयुक्त हुँदैन। उनीहरू तपाईं-हामीले सोचेजस्ता र “बुढेसकालको सहारा” हुनेछन् भन्ने सोच सधैं सत्य नहुन सक्छ। समय र परिस्थितिहरू बदलिँदै छन्। जमाना पहिले जस्तो छैन। आजको पुस्तामा भावनात्मक पक्षहरू कमजोर हुँदै गएका छन्। मानिस आजकल सम्बन्ध र जीवनलाई तर्क र विज्ञानका दृष्टिकोणले हेर्छ।
मैले बाटामा एउटा बिरालोको बच्चा भेटेर ल्याएँ र हुर्काएँ। बच्चा जस्तै माया गर्छु। उसले गर्ने भनेको कहिलेकाहीँ छेउमा आएर चाट्छ, लटपटिन्छ। उसले गर्न सक्ने त्यही हो। उसको चेतना त्यत्तिकै हो। मान्छे पनि आफ्नो चेतना र बौद्धिक क्षमताअनुसारका हुन्छन्। जति बुद्धि, विवेक छ, त्यति गर्छ। नगर्न पनि सक्छ। त्यसैले छोराछोरी वा अरू कसैसँग पनि धेरै आशा र अपेक्षाले कहिलेकाहीँ दु:ख र तनाव थपिन्छ।
लाग्छ कि बुढाबुढीहरूलाई बुढेसकालमा हेर्ने भनेको आफ्नै स्वास्थ्य, सक्रियता, राज्यको सहयोग, आफ्नो जगेडा धन, अस्पताल, डाक्टर, नर्स र नर्सिङ होमहरू नै हुन्। छोराछोरीले त खासै हेर्नेजस्तो देखिँदैन तर हाम्रो सोच अझै फरक छ। आशा र भरोसा त राख्नैपर्छ। कर्म गर्नुपर्छ, कर्तव्य पालन गर्नुपर्छ तर गीतामा भनेझैं फलको आशामा होइन। तेसैले बुढेसकालका लागि आजैदेखि सोच्न सुरु गर्नु आवश्यक पो देख्छु म त !
कुनै कारणले अहिलेको एसइईको नतिजामा आशातीत सफलता नपाउनेहरूले बुझ्न जरुरी छ, असफलता भनेको प्रयासको अन्त होइन, पुन प्रयास गर्ने एउटा अवसर हो। Failure is not the opposite of success; it’s part of success.
एसइई पास गरेका सम्पूर्ण नानी बाबुहरू र उहाँहरूका अभिभावकहरूलाई हार्दिक बधाई !
(लेखक हाल अमेरिकाको टेक्सास राज्यमा बस्नुहुन्छ । उहाँको फेसबुक वालमा अनुभवले खारिएका प्रेरणादायी र मर्मस्पर्सी अभिव्यक्तिहरू पाइन्छन् । हालै प्रकाशित एसइईको नतिजालाई लिएर उहाँले लेख्नुभएको स्टाटस समय सान्दर्भिक लागेर प्रकाशन गरिएको हो ।)

