सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । कपिलवस्तु, शिवराज नगरपालिका-८ बिसनपुरस्थित सडकमा बिसनपुरबाट मौलीतर्फ जाँदै गरेको रा.४ प ६४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय महेश चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै रूपन्देही, गैडहवा गाउँपालिका-३ लालपुर चोकमा मंगलपुरबाट जोगडातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश-०१-००६ प ४८४७ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा मोटसाइकलमा सवार मायादेवी गाउँपालिका-२ तिलोरी बस्ने ४५ वर्षीया सुमित्रा यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सुनसरी, रामधुनी नगरपालिका-७ बासबिटीस्थित सडकमा को.३३ प ९६०५ नम्बरको मोटरसाइकल र प्रदेश १-०२-०५६ प ५८६४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा दुवै मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा प्रदेश १-०२-०५६ प ५८६४ नम्बरको मोटरसाइकल चालक रामधुनी नगरपालिका-६ बस्ने ३४ वर्षीय इनर्चन चौधरी, उनको छोरा ९ वर्षीय प्रनिश चौधरी र को.३३ प ९६०५ नम्बरको मोटरसाइकल चालक इनरूवा नगरपालिका-६ बस्ने बर्ष ५१ वर्षीय बिन्दु यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उता सिराहा, औरही गाउँपालिका-१ दरहैया चोकमा मधेश प्रदेश ०१-००१ त २५४३ नम्बरको ट्याक्टर शनिबार राति दुर्घटना हुँदा चालक बरियारपट्टी गाउँपालिका-३ बस्ने २५ वर्षीय सतवा यादवको घटनास्थलमै मृत्यु भएको छ ।

यता पर्वत, फलेवास नगरपालिका-८ नेपानेस्थित सडकमा लमायखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग.१ ज ६९७ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार फलेवास नगरपालिका-८ ठानामैला बस्ने ३९ वर्षीय डोल बहादुर क्षेत्रीको मृत्यु भएको छ । शनिबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु गए राति मृत्यु भएको हो ।

साथै दर्घटनामा घाइते भएका बोलेरोमा सवारमध्ये २ जनाको सोही अस्पतालमा र १ जनाको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार