सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । महोत्तरी, औरही नगरपालिका-७ टिमकियास्थित सडकमा ज.११ प ६३७३ नम्बरको मोटरसाइकललाई प्रदेश २-०३-००१ क १३९१ नम्बरको टिपरले आइतबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार लोहरपट्टी नगरपालिका बस्ने १७ वर्षीय नितिश भगतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबास सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि जानकी हेल्थ केयर जनकपुर पठाइएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको गए राति घटनास्थलमै मृत्यु भएको छ । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै सिन्धुली, कमलामाई नगरपालिका-१४ रानिबासस्थित सडकमा भिमानबाट रानीबासतर्फ जाँदै गरेको ज.४ प ३४९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१४ चन्दनपुर बस्ने ३५ वर्षीय राजेन्द्र कुँवर दनुवारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार