सवारी दुर्घटनामा छ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं, टोखा नगरपालिका-६ ग्राण्डीस्थित सडकमा बा.प्र ०१-००२ ज ७३७८ नम्बरको ईभी माइक्रो र बा.प्र. ०२-०४४ प ६४०५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सर्लाही हरिवन नगरपालिका-१ घर भएका २४ वर्षीय सोनाम योन्जनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रान्डी अस्पताल टोखामा उपचारको क्रममा मृत्यु भएको हो । ईभी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै कैलाली, घोडाघोडी नगरपालिका-५ डोकेबजारस्थित सडकमा से.७ प ७०८९ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-०१० प ८४०५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा सु.प.प्र.०१-०१० प ८४०५ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका-१२ कोटा बस्ने २३ वर्षीय नोयल कठरीयाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्तताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका से.७ प ७०८९ नम्बरको मोटरसाइकल सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सु.प.प्र.०१-०१० प ८४०५ नम्बरको मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी रिफर गरिएको छ ।

यस्तै उदयपुर, बेलका नगरपालिका-८ स्थित सडकमा बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को.३८ प ९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक मोरङ घर भएका ३२ वर्षीय अनिल राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता काभ्रे, नमोबुद्ध नगरपालिका-२ सेल्फी डाँडास्थित सडकमा बा.४ ख ७१ नम्बरको बस र बा.७१ प ६८८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक नमोबुद्ध नगरपालिका-२ बस्ने २३ वर्षीय पासाङ तामाङ र मोटरसाइकलमा सवार २२ वर्षीय बिजय तामाङको मंगलबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । यता चितवन, रत्ननगर नगरपालिका-३ भ्युटावरस्थित सडकमा ना.६ ख ७७६३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ बस्ने ५५ वर्षीय बाबुराम महतोको मंगलबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार