नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असार ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं, नागार्जुन नगरपालिका-७ रामकोट रत्न राज्य स्कुल नजिक सडकमा बा.प्र.०१-०२६ च २६०५ नम्बरको गाडीले बा.६५ प ६१६२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय कृष्ण थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै बैतडी, पाटन नगरपालिका-६ खिपाली मोडस्थित सडकमा धनगढीबाट गोकुलेश्वरतर्फ आउँदै गरेको सु.प.प्र. ०१-००१ ज १३७२ नम्बरको जिप गए राति दुर्घटना हुँदा चालक डिलासैनी गाउँपालिका-१ नाङ्ग्रा बस्ने २४ वर्षीय सन्तोष बहादुर राना र जिपमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय किरण बोहराको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र पाटनको उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य २ जनालाई थप उपचारको लागि धनगढी पठाइएको छ । यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-११ कालिकानगर दर्लामीपथस्थित सडकमा लु.२४ प ९७२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका देवीनगर बस्ने २० वर्षीय मलदिप मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको चौराहा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

