आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था नआउने बताउनुभएको छ ।

बारा सदरमुकाम कलैयामा मंगलबार आयोजित नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले गठबन्धनका कारण विगतमा साइकल, मसाल, कलममा भोट हाल्ने बाध्यता सिर्जना भए पनि विसं २०८४ मा हुने आमनिर्वाचनमा त्यस्तो अवस्था नआउने बताउनुभयो ।

महामन्त्री शर्माले देशको हरेक परिवर्तनमा अतुल्नीय योगदान रहेको कांग्रेसको चुनाव चिन्हमा मत हाल्न जनता आतुर रहेको भन्दै अब कसैसँग कुनै प्रकारको गठबन्धन नगरी पार्टीले नै चुनाव लड्ने बताउनुभयो ।

उहाँले ०८४ मा पार्टीले बहुमतको सरकार बनाउने गरी अहिलेदेखि नै जनताको पक्षमा काम गर्नुपर्ने उहाँको भनाइ थियो । “जहिले पनि कांग्रेस देश विकास, समृद्धि, डण्डहिनताको अन्त्य, विधिको शासन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेन्टी गराउन पूर्ण प्रतिबद्ध छ । आगामी आमनिर्वाचनपछि आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर ती प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्छ । त्यसैले फुटेर होइन जुटेर अगाडि बढौँ”, महामन्त्री शर्माले भन्नुभयो ।

उहाँ हाल हाल गठबन्धन सरकारमा रहेका आफ्ना मन्त्रीहरूले गरेका राम्रा कामबारे बढीभन्दा बढी प्रचार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । महामन्त्री शर्माले पार्टीले सहमति, सहकार्य र एकताको सन्देश दिने र त्यसका लागि आगामी २०८३ सालमा महाधिवेशन हुने धारणा राख्नुभयो ।

पार्टीका जिल्ला सभापति राजेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री कलावती पासवान, पार्टीका मधेस प्रदेश उपसभापति चन्द्रशेखरकुमार यादव, उपसभापति मनोज भट्ट, उपसभापति अमिरीलालपाल, क्षेत्रीय सभापति विजयशङ्कर यादव, नेताहरू रामप्रवेश यादव, सुनिल गुप्ता, प्रभातकुमार चौरसियालगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार