

नेपालको राजनीतिमा ओली, देउवा र दाहालहरू पटक पटक अवसर पाएका भाग्यशाली पात्रहरू हुन् । उनीहरूले देशका लागि हिजो जे जति योगदान गरे, त्योभन्दा कयौं गुणा बढी उनीहरूले देशबाट लाभ लिए । यसबीच नेपाली जनताले उनीहरूको ल्याकत, ताकत, राजनीति, कूटनीति, दृष्टि, दूरदृष्टि सबै देख्न भ्याए तर यी सबै परीक्षामा उनीहरू पूर्णतः असफल सावित भए, निकम्मा सावित भए । विभिन्न बाहना बनाएर अझै नेतृत्वमा रहने अपेक्षा पालिराख्नु भनेको उनीहरूको पदलोलुपताबाहेक केही होइन । यिनीहरू अझै जति समय सत्तामा वा सत्ताको वरिपरि रहिरहन्छन्, त्यतिञ्जेल मुलुक आइसीयुमा छटपटाइरहने पक्का छ ।
पटक पटक परीक्षण गरिएका र गुदी केही नभएका ओली, देउवा र दाहालहरूले निरन्तर नयाँ नयाँ कार्ड फालेर जनतालाई झुक्याउन खोज्नु उनीहरूको स्वभाव नै होला तर यिनीहरूबाट केही भइहाल्छ कि भनेर अपेक्षा गर्नु भनेको बलय गाडा चढेर अन्तरिक्षको भ्रमण गर्न सकिन्छ भन्नु जस्तै हो । त्यसैले पनि नेतृत्वका लागि अझै पनि ओली, देउवा र दाहालहरूले रोइलो गर्नुको कुनै अर्थ छैन । यिनीहरूलाई पालैपालो पाँच पाँच वर्ष एकलौटी रूपमा सत्ता हाँक्ने अवसर दिने हो भने पनि यिनीहरूबाट माखो मर्नेवाला छैन ।
ओली, देउवा र दाहालहरूको लोकप्रियताको कुनै वैज्ञानिक विधि/पद्दतिबाट तत्काल परीक्षण गर्नेे हो भने परिणाम् घोर निराशाजनक आउने सुनिश्चित छ । यिनीहरूबाट प्रत्यक्ष लाभ लिएकाहरू र लिने सम्भावना भएकाहरूबाहेक आज यिनीहरूका पक्षमा कोही छैनन् । जनता यिनीहरूको ठाउँमा अरू कोही आओस् र देशलाई भाषण र कुशासनको रोगबाट मुक्त गरोस् भन्ने चाहन्छन्, मुलुकलाई वास्तविक रूपमा नै समृद्धिको दिशातिर गतिशील गराओस् भन्ने चाहन्छन् ।
यिनीहरूले सत्ता र शक्तिको दुरुपयोग गरेर रविलाईझैं फसाउँने डर नहुने हो भने यिनीहरूको आ–आफ्नै घर परिवारबाट वा आ–आफ्नै पार्टी–पङ्तिबाट यिनीहरूविरुद्ध विद्रोहको ज्वालामुखी फुट्न सक्छ । समयको यस सङ्केतलाई नबुझेको बाहना गर्नु अर्को कुरा हो ।
ओली, देउवा र दाहालले भविष्यमा मुलुकले उनीहरूलाई यसरी सम्झोस् भनेर सम्झन योग्य वा गर्व गर्न लायक इतिहास पनि दिन सकेनन् । बरू आफ्नो व्यक्तिगत स्वार्थका लागि नेपालका नेताहरू आफ्नो मर्यादाबाट कतिसम्म गिर्न सक्छन् भन्ने प्रसङ्ग आउँदा अथवा पटक पटक देशको प्रधानमन्त्री बनेर पनि देश र जनताका पक्षमा केही गर्न नसक्ने निवीर्य नेताको स्मरण गर्नुपर्दा अथवा आफ्ना दलका भ्रष्टहरूलाई जोगाउने तर अर्को दलको निर्दोसलाई पनि विभिन्न बाहनामा जेलको हावा खान बाध्य पार्ने नेताहरूको नाम लिनुपर्दा चाहिँ यिनीहरूको नाम स्मरणमा आउन सक्छ । यो उनीहरूकै अथक प्रयासको परिणाम हो ।
कसरी गुमाए ‘महान्’ बनने अवसर ?
ओली, देउवा र दाहालले पटक पटक आफूलाई महान् बनाउने अवसर पाएका हुन् । भिजन र इच्छाशक्ति भएको भए यिनीहरू सिंहदरबारका भित्तामा मात्र होइन, नेपाली जनताको मन–मुटुमा स्थान बनाउन सक्थे, तर बनाउन चाहेनन् । सत्तालाई म्युजिकल चेयर बनाएर आलोपालो कुर्सीमा बसेका यिनीहरूले पाएको अवसरलाई सदुपयोग गर्नुको सट्टा बरू सकेसम्म दुरुपयोग गरे । यिनीहरूले हिजो ‘आई लभ यु’ भन्नेहरू नै आज सडकमा किन ‘…..चोर, देश छोड’ भन्ने अवस्थामा पुगे भनेर कहिल्यै वस्तुनिष्ठ समीक्षा गरेनन् । भ्रष्टाचार र अलोप्रियताको सर्वोच्च शिखरमा बसेर पनि कहिल्यै आफूलाई सच्याउन तयार भएनन् । यिनीहरूले चित्र जस्तो हुन्छ, चरित्र त्यस्तो हुँदैन भनेर फेरि एकपल्ट प्रमाणित गरिदिए ।
त्यसैले पनि प्राविधिक रूपमा यिनीहरू देशका प्रधानमन्त्री भए पनि यथार्थमा आफूसँग टाँसिएको एउटा सानो स्वार्थ समूहको मात्र प्रधानमन्त्री बनेर आत्ममरतिमा रमाउनमा रुचि देखाए । कुरा लोकतन्त्र र गणतन्त्रका गरे पनि अभिरुचि चाहिँ क्रूर र निरङ्कुश शासक बन्नमा देखाए ।
लोकतान्त्रिक चरित्रलाई जीवन पद्दतिको आधार बनाइनु पर्नेमा बरू लोकतन्त्रलाई आफू अनुकूल अपव्याख्या गर्दै उनीमाथि प्रश्न गर्नेलाई दण्डित गर्ने वा किनाराकृत गर्ने कुसंस्कारको विकास गरे । अनि, उनीहरूको कोपभाजनको सिकार हुने भयले समाजले उनीहरूलाई प्रश्न गर्ने हिम्मत गर्न छाड्यो (केही अपवादलाई छोडेर) । कमजोर र भ्रमित नेतृत्वले लाचारहरूमाथि वा जनतालाई लाचार बनाएरै शासन गर्ने हो । र, यिनीहरूले पनि जनतालाई शक्तिशाली बनाउने नाममा लाचार छायाँ बनाए र मुर्दा शासन गरिरहेछन् ।
त्यसैले मुलुकलाई यस दलदलबाट माथि उठाउन पनि जनतामा सम्भावना बोकेका युवा नेतृत्वको चाहना पल्लवित हुन थालेको हुनसक्छ । आफ्नो निर्णायक अभिमत दिने पालो पाँच वर्षमा मात्र आउने भएकोले मतदाताका रूपमा जनता अहिले त्यो निर्णायक दिनको प्रतीक्षामा छन् । अर्थात् केही नवीन आशा बोकेर सबैका आँखा मिसन ८४ मा टिकेका छन् ।
तर बिडम्बना के भने, मतदाताहरूले ८४ मा यी असफल र लाचार अनुहारहरू फेरेर नयाँलाई शासन सत्ता सुम्पने योजना बनाइरहँदा उनीहरू भने अझै नयाँ नयाँ षडयन्त्र मञ्चन गर्दै नमरुञ्जेल शासन सत्तामा टाँसिइरहन छलछाम गर्दै छन् । जो जसले विगत ३५ वर्षमा यो देशलाई जर्जर र कङ्गाल बनायो, सारा संसारभन्दा नेपाललाई सयौं वर्ष पछि पार्यो, उनीहरू नै झन प्रखर रूपमा मिसन ८४ को कुरा गर्दैछन् । उनीहरूलाई मिसन ८४ किन चाहियो ? विकास र समृद्धिको काम गर्न उनीहरूलाई हिजो केले रोकेको थियो र मिसन ८४ ले चाहिँ कुन ढोका खोलीदिन्छ ?
वास्तविकता के हो भने, देश बनाउने उत्कृष्ट अभिलाषा र मानसिक हुटहुटीले उनीहरूलाई मिसन ८४ चाहिएको होइन । उनीहरूलाई त मर्ने बेलामा जेलको हावा खान नपरोस् भनेर जनतालाई फेरि एकपल्ट झुक्याउन मात्र मिसन ८४ चाहिएको हो । उनीहरू शासन सत्तामा रहेकै अवस्थामा आफ्नो प्राण जाओस् भन्ने चाहन्छन् । नत्र आफूले गरेका अपराध, भ्रष्टाचार, कुशासन, अनियमितता र शक्ति दुरुपयोगका अभियोगमा जेलको हावा खानुपर्नेमा उनीहरू विश्वस्त छन् ।
त्यसैले आफूले गरेका कुकर्मको अपराधबोधले छटपटाउँदै जेलको छिँडीभित्र रहेर दुनियाँ हँसाउनुभन्दा कुनै छलकपट गरेरै भए पनि मिसन ८४ मा पुनः सत्तारोहण गर्न पाइयो भने अर्को पाँच वर्ष आफूलाई सुरक्षित राख्न सकिन्थ्यो कि भनेर मात्र मिसन ८४ चाहिएको हो । यिनीहरूले बुझ्न जरुरी छ कि सिङ्गो मुलुक यिनीहरूलाई पुनः शासकका रूपमा होइन, उनीहरूले गरेको राजनैतिक बेइमानी र अपराध कर्मको आधारमा उनीहरूलाई आ–जीवन जेलभित्र देख्न चाहन्छ । अरूलाई पार्न जाल बुन्नेहरू आफैं जालमा परेर छटपटाएको हेर्न चाहन्छ ।
