

गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्टले पूर्वप्रदेशप्रमुख पृथ्वीमान गुरुङको शनिबार बिहान निधन भएकामा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि एवं परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
प्रदेशप्रमुख भट्टले शनिबार शोक सन्देश व्यक्त गर्दै गुरुङको असामयिक निधनबाट आफू अत्यन्त दुःखित भएको उल्लेख गर्नुभएको छ । करिब ३२ महिना गण्डकी प्रदेशवासीको अभिभावकका रूपमा प्रदेशप्रमुख पदमा रही प्रदेशको गहन जिम्मेवारी बहन गर्नुभएका कुशल एवं अनुभवी व्यक्तित्व गुरुङको निधनबाट ठूलो क्षति पुगेको आफूले महसुस गरेको उहाँले सन्देशमा भन्नुभएको छ ।
अभिभावक गुमाएका स्व गुरुङका शोकसन्तप्त परिवारजन र स्वजनहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै प्रदेशप्रमुख भट्टले गण्डकी प्रदेशवासी र आफ्नो व्यक्तिगततर्फबाट हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
गण्डकी प्रदेशको कास्की जिल्ला साविक घलेल गाविस-४ मा जन्मनुभएका गुरुङका परिवार बसाइँसराइँ गरी हाल चितवनको भरतपुर महानगरपालिका-२६, दिव्यनगरमा बस्दै आउनुभएको थियो ।
पछिल्लो समय क्यान्सरसँग लडिरहनुभएका पूर्वप्रमुख गुरुङको ७६ वर्षको उमेरमा दिव्यनगरस्थित निवासमा आज बिहान निधन भएको हो । उहाँको आइतबार मात्रै अन्त्येष्टि गरिने परिवारले जनाएका छन् । विसं २०७८ साउन १२ गते प्रदेशप्रमुखमा नियुक्त हुनुभएका गुरुङ विसं २०८० फागुन २८ गतेसम्म उक्त जिम्मेवारीमा रहनुभएको थियो ।

