नवकान्तिपुर संवाददाता
लुम्बिनी , ११ साउन ।


उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको बुटवल उपमहानगरपालिकाअन्तर्गत सञ्चालित विभिन्न विकास आयोजनाको शनिबार निरीक्षण गर्नुभएको छ ।
उहाँले रुपन्देही निर्वाचन क्षेत्र नं २ मा सञ्चालित विकास आयोजनाको कार्यान्वयन र गुणस्तरीयताका विषयमा शुक्रबारदेखि उहाँले यहाँ निरीक्षण गरिरहनुभएको छ ।
अर्थमन्त्री पौडेलले आइतबार पनि जिल्लाका विभिन्न विकास आयोजनाको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल नगर अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिनुभयो ।
पौडेलले शनिबार बुटवल उपमहानगरपालिका–१२, १३ र १५ मा सञ्चालित विभिन्न विकास आयोजनाको निरीक्षण गर्नुभयो । त्यस क्रममा बुटवल उपमहानगरपालिका–१३ स्थित प्रदेश सरकारअन्तर्गत निर्माण हुने उजिर सिंह रङ्गशालाको निरीक्षण तथा स्थानीयसँग छलफल गर्दै उहाँले नियम, कानुन र प्रक्रियागत जटिलता फुकाउन केही ढिला भए पनि अब रङ्गशाला निर्माणको काम अघि बढ्ने बताउनुभयो ।
उपप्रधानमन्त्री पौडेलले बुटवलको विकास निर्माणका लागि राम्रा योजना ल्याए बजेटको अभाव नहुने भन्दै आश्वस्त पार्नुभयो । “बुटवललाई अब धुलो–हिलोमुक्त सडक बनाउने अभियान थाल्छौँ, त्यसका लागि बजेटको चिन्ता गर्नु पर्दैन ।
यहाँ सञ्चालित विकास–निर्माणका काममा जनस्तरबाट गुणस्तर, काममा ढिलाइ र प्राविधिक अनुगमन भए÷नभएका विषयमा नागरिक निगरानी हुनु जरूरी छ । तपाईंहरूले यसमा ध्यान दिनुहोला”, उहाँको भनाइ थियो ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्ले गत फागुन ६ गते गरेको निर्णयअनुसार उक्त आयोजना युवा तथा खेलकुद मन्त्रालयबाट प्रदेश पूर्वाधार विकास प्राधिकरणमा हस्तान्तरण गरी ठेक्का प्रक्रिया अघि बढाइएको छ । आयोजनाको कुल लागत अनुमान रु ५३ करोड रहेको छ ।
आयोजना दुई चरणमा कार्यान्वयन गर्न हाल पहिलो चरणअन्तर्गत रु १० करोड ७६ लाख ६१ हजार लागतसहित ‘टेन्डर’ स्वीकृत भएको आयोजनाका इन्जिनियर शङ्कर सुवेदीले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत रङ्गशालामा भिलिएनसहितको फुटबल स्टेडियम, मल्टिप्रपोज कभर्डहल, स्विमिङ पुल, क्यान्टिन, पार्किङ, बाल उद्यान निर्माण गरिने उहाँले बताउनुभयो ।
त्यस अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जनचाहनाअनुसार बुटवलको विकासमा जनतासँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
उपप्रधानमन्त्री पौडेलले आजै बुटवल- १५ स्थित कर्साघाटामा निर्माण प्रस्ताव गरिएको कृषिउपज केन्द्र क्षेत्रको अवलोकन गर्नुभयो चालु आर्थिक वर्षमा कृषिउपज केन्द्रका लागि जग्गा प्राप्ति गरेर भौतिक पूर्वाधार निर्माणका काम अघि बढाइने लक्ष्य रहेको छ । यसका लागि रु चार अर्बभन्दा बढी लगानी हुने जनाइएको छ ।
यस्तै, उपप्रधानमन्त्री पौडेलले वडा नं १५ मा निर्माणाधीन बुटवल तामनगर–फर्साटिकर सडक, नयाँगाउँ खानेपानी आयोजना, बुटवल–१३ को सेवा पथ, बेलवास–झोलुङ्गेपुल सडकलगायतको निरीक्षण गर्नुभएको छ ।

