नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।


नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका इन्द्रबहादुर बानियाँले नयाँ मुख्यमन्त्रीका लागि सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा कांग्रेस दलका नेता बानियाँले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको हो ।
कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संयुक्त रूपमा प्रदेश प्रमुख देवकोटालाई बुझाइएको पत्रमा बानियाँलाई मुख्यमन्त्री बनाउन कांग्रेसका ३७ जना प्रदेशसभा सदस्य र एमालेका २७ जना प्रदेशसभा सदस्य गरी ६४ जना प्रदेशसभा सदस्यहरूको समर्थन रहेको दाबी गरिएको छ ।
यही साउन १४ कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ सोमबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुभएको थियो ।
मुख्यमन्त्री लामा राजीनामा बुझाएसँगै कांग्रेस बागमती प्रदेशका सभापति समेत रहनुभएका बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । यसअघि सोमबारै प्रदेश प्रमुख देवकोटाले भोलि साउन २० गते दिउँसो २ः०० बजेसम्मको समय सीमा दिएर नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
