दोस्रो विश्वयुद्धमा बाँचेका कोरियाली ८० वर्षपछि पनि अझै पीडित

सन् १९४५ अगष्ट ६ मा हिरोशिमालाई ध्वस्त पार्ने आणविक बम ‘लिटिल ब्वाई’ अमेरिकीहरूले खसाल्दा बाए क्युङ–मी पाँच वर्षको हुनुहुन्थ्यो ।

त्यस समयमा शहरमा काम गर्ने हजारौं अन्य जातीय कोरियालीहरू जस्तै उहाँको परिवारले पनि यो त्रासलाई गोप्य राखेको थियो । औपनिवेशिक शासक जापानका लागि सानोतिनो श्रमिकमाथि लाग्ने लाञ्छना र विकिरणका कारण हुने रोगको सङ्क्रामकताबारे बोल्न धेरैलाई डर लाग्थ्यो ।

त्यस दिन हिरोशिमास्थित आफ्नो घरमा खेलिरहेको बेला विमानको आवाज सुनेको बाए सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यसको केही मिनेटमै मेरी आमा भग्नावशेषमा पुरिनुभएको थियो ।”

“मैले मेरी आमालाई जापानी भाषामा भनेँ, “आमा! त्यहाँ हवाईजहाजहरू छन्!” अहिले ८५ वर्ष पुगेका बाएले एएफपीसँग भन्नुभयो । उहाँले भन्नुभयो, “त्यसको केही समयपछि आमा कहिल्यै बोल्नुभएन, खै कहा जानुभयो त्यो पनि मलाई थाहा भएन। पछिमात्र मलाई भनियो आमा वित्नुभयो भनेर।”

बाए भन्नुहुन्छ, “मेरो घर म माथि ढल्यो र आगलागी भयो । भग्नावशेषले मलाई जलेको आगोबाट बचाएछ । मैले पछि अरूले भनेको सुने। थाहा पाएँ।” तर ती जहाजहरूबाट खसालिएका विस्फोटक पदार्थले आमा, काका र काकीसहित दशौं हजार मानिसहरूको ज्यान लिए । पछि बाएको बाँकी परिवार जापानबाट कोरिया फक्र्याे । उनीहरूले आफ्नो अनुभवबारे कसैलाई बताएनन्।

“मैले मेरो पतिलाई म हिरोशिमामा थिएँ र बम विस्फोटको सिकार भएको थिएँ भनेर कहिल्यै भनिनँ,” बाएले भन्नुभयो । उहाँ भन्नुहुन्छ, “त्यतिबेला मानिसहरूले अक्सर उक्त घटनामा परेका व्यक्तिका बारेमा नकारात्मक कुरा गर्थे । यदि मेरो श्रीमान्ले म त्यो परमाणु बम बारीबाट बचेको व्यक्ति हो भन्ने थाहा पाएको भए मलाई विवाह गनुहन्नथ्यो होला। समाजले यस्तो व्यक्तिलाई हेर्ने दृष्टिकोण गलत थियो ।”

सन् १९९६ मा दक्षिण कोरियाको हाप्चेओनमा बम विष्फोटका पीडितका लागि स्थापना गरिएको विशेष केन्द्रमा आफ्नो नाम दर्ता भएपछि मात्र उहाँका दुई छोराले हिरोसिमामा वम खस्दा उहाँ त्यहाँ रहेको थाहा पाएका थिए ।

बाएले विकिरणसँग सम्बन्धित रोगहरूबाट पीडित हुने डरले क्यान्सरको उच्च जोखिमको कारण उहाँको अण्डाशय र स्तन निकाल्न बाध्य भएको बताउनुभयो । तर यो कुरा आफ्ना बच्चा र श्रीमान्लाई समेत बताउनुभएन ।

पीडामाथि पीडा
उहाँलाई आफू किन बिरामी परिरहेको छ भनेर थाह थियो, तर उहाँले आफ्नो परिवारलाई भन्नुभएको थिएन । उहाँले भन्नुभयो, “हामी सबैले यसलाई दबाइदियौँ।”

हिरोशिमा र नागाशाकीमा भएको दुई वटा बम विष्फोटमा करिब सात लाख ४० हजार मानिसको मृत्यु भएको थियो । जापानको कोरियाली प्रायद्वीपमा उपनिवेश रहेको समयमा जापानमा ठूलो सङ्ख्यामा मानिसहरुको ओहोरदोहोर भएको तथ्याङ्कले देखाएको छ ।

जापानमा बाँचेकाहरूले ‘हिबाकुशा वा आणविक बमबाट बचेकाहरू र कोरियालीहरूको रूपमा भेदभाव सहनुपरेको थियो । सन् १९५० देखि सन् १९५३ को कोरियाली युद्धका कारण प्रायद्वीप विभाजित भएपछि धेरै कोरियालीहरूले प्योङयाङ समर्थक र जापानको सियोल समर्थक समूहहरूमध्ये एक रोज्नुपरेको थियो।

क्वोन जून–ओहकी आमा र बुबा दुवै हिरोशिमा आक्रमणमा बाँच्न सफल भएका थिए । उहाँका अनुसार ७६ वर्षीय उहाँका आमाबाबुले पनि आफ्नो पुस्ताका अन्य सदस्यले जस्तै जापानीहरूले आफूभन्दा तल ठानेको ‘फोहोर र खतरनाक काम’ मात्र गर्न पाउँथे ।

सन् १९९० को दशकको अन्त्यतिर हिरोशिमा शान्ति पार्कमा कोरियाली पीडितहरूलाई दशकौँसम्म आधिकारिक स्मारक बनाउनबाट बञ्चित गरिएको थियो। सन् १९४५ अगष्ट ६ मा किम ह्वा–जा चार वर्षकी हुनुहुन्थ्यो र बम विस्फोटपछि हिरोसिमाबाट भाग्ने प्रयास गर्दा घोडाको पासोमा परेको सम्झना गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, “एक्कासी ठूलो आवाज आयो । धुवाँ सबैतिर फैलियो र शहर जल्यो ।” कम्बलमुनिबाट बाहिर हेरिरहेकी किमलाई उहाँकी आमा र बुवाले कम्बलले मुख छोप्न भने उहाँले त्यसै गर्नुभयो र सम्भवतः ज्यान बच्यो ।

कोरियाली समूहहरूको अनुमानअनुसार त्यस दिन ५० हजारभन्दा बढी कोरियालीहरू शहरमा थिए र दशौँ हजारले सैन्य स्थलहरूमा मजदुरी गरिरहेका थिए । हिरोशिमाका एक अधिकारीले एएफपीसँग भने, “शहरको कार्यालय यति पूर्ण रूपमा तहसनहस भयो कि स्पष्ट रेकर्डहरू पत्ता लगाउन सम्भव थिएन ।”

जापानको औपनिवेशिक नीतिले कोरियाली नामको प्रयोगमा प्रतिबन्ध लगायो, जसले रेकर्ड राख्न थप जटिल बनायो । आक्रमणपछि बाँचेका हजारौं कोरियालीहरू आफ्नो नयाँ स्वतन्त्र देशमा फर्केका थिए।

तर त्यसयता थुप्रैले स्वास्थ्य समस्यासँगै र लाञ्छनाको सामना गरिरहेका छन् । “त्यतिबेला विकिरणको जोखिम सङ्क्रामक (फैलिन सक्ने) हुन सक्छ भन्ने निराधार अफवाहहरू थिए,” देशको हाप्चेओन आणविक बम पिडित केन्द्रका निर्देशक जियोङ सो–वोनले भन्नुभयो ।

जियोङले भन्नुभयो, “राष्ट्रव्यापी रूपमा करिब एक हजार ६०० दक्षिण कोरियाली जीवितै रहेको अनुमान गरिएको छ, जसमध्ये ८२ जना केन्द्रमा बस्छन्।”

सियोलले सन् २०१६ मा एक विशेष कानून लागू गरेको थियो जसमा पीडितहरूलाई मासिक ७२ अमेरिकी डलरको भत्ता पनि समावेश गरिएको थियो तर यसले उनीहरूका सन्तान वा विस्तारित परिवारलाई कुनै सहयोग प्रदान गर्दैन।

“बम विस्फोटबाट प्रभावित दोस्रो र तेस्रो पुस्ताका थुप्रै सन्तान जन्मजात रोगबाट पीडित छन्,” जियोङले भन्नुभयो । “भविष्यमा उनीहरूलाई सहयोग गर्ने प्रावधानलाई कानुनमा ‘समावेश गर्नैपर्छ’,” उहाँले भन्नुभयो ।

जापानको हिबाकुशा समूहले विश्वलाई आणविक युद्धको भयावहता देखाउन गरेको प्रयासको कदर गर्दै गत वर्ष नोबेल शान्ति पुरस्कार जितेको थियो । तर आक्रमणको ८० वर्ष बितिसक्दा पनि जापान र कोरियाका धेरै बाँचेकाहरूले संसारले केही नसिकेको बताएका छन्।

केबल गफ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानको आणविक केन्द्रहरुमा गरेको आक्रमणलाई हिरोशिमा र नागासाकीमा भएको बमबारीसँग तुलना गर्नुभएको छ ।

विस्फोटपछि बाँच्न सफल किम जिन–होले भन्नुभयो, “हिरोशिमामा भएको बम विष्फोटको त्रासदी के उहाँले बुझ्नुभएको छ ? के उहाँले नागासाकीको त्यो कुरा बुझ्नुभएको छ ?”

कोरियामा हाप्चेओन केन्द्रले अगष्ट ६ मा एक स्मृति दिवस मनाउनेछ र यस वर्षको कार्यक्रमले थप ध्यान आकर्षित गर्ने आशा गरिएको छ । “राजनीतिज्ञहरूबाट केवल कुराकानी भएको छ । तर कुनै गम्भीर चासो छैन,” उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार