नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।


प्रतिनिधिसभा सदस्यहरुले लामो खडेरीपछि केही दिनयता मुलुकका विभिन्न भागमा भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित प्राकृतिक विपद्बाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभाको मंगलबारको बैठकका आकस्मिक समयमा उहाँहरुले बाढीपहिराका कारण अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउन तथा वैकल्पिक मार्गको व्यवस्था गर्न सरकारको ध्यानाकृष्ट गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले लामो समयको खडेरीपछि तराई र पश्चिम नेपालमा मनसुन सक्रिय भएकाले सो क्षेत्रका जनतालाई सम्भावित प्राकृतिक विपत्तिबाट जोगाउन समयमै पहल थाल्न आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले वर्षाका कारण देशभर राजमार्ग प्रभावित भएको जनाउँदै तत्काल सुरक्षित ढङ्गबाट यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायणी शर्माले तराई/मधेसका क्षेत्रमा सर्पदंशको घटना दिन प्रतिदिन बढिरहेको उल्लेख गर्दै स्थानीयस्तरमा सर्पदंश उपचारको प्रबन्ध गर्न माग गर्नुभयो । आम जनता पार्टीका सांसद प्रभु साहले खडेरीको मारमा परेका तराई/मधेसका किसानलाई उचित राहत दिन माग गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले नेपालमै गुणस्तरीय शिक्षा पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै शिक्षा र रोजगारीका लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले हरेक नागरिकको सुरक्षा गर्नु राज्यको कर्तव्य भए पनि पूर्वमन्त्री जयप्रकाश गुप्ताको निवासमा रहेका कर्मचारीलाई कुटपिट गर्नेमाथि कडा कारबाही गर्न माग गर्नुभयो ।
