ट्राओरे : एक सैनिक शासक जो धेरैका लागि प्रेरणा बन्दै

इब्राहिम ट्राओरेको एउटा मर्मस्पर्शी भनाई अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । एकदिन उनलाई एक पत्रकारले सोध्छन्– ‘तपाई यति ठूलो पदको मान्छे, तपाईसँग न सेक्युरीटी गार्ड छ, न बुलेट प्रुफ गाडी नै । बिना सुरक्षा गार्ड घुम्न निस्कँदा तपाईलाई डर लाग्दैन ?’

ट्राओरेले मुस्कुराउँदै उत्तर दिन्छन्– ‘म किन डराउने ? यदि म इमानदार छु भने मेरो रक्षा या त भगवानले गर्दछन् या त जनताले । जो बेइमानी छ, उसले मात्र डराउने हो र सुरक्षा गार्ड पनि उसलाई चाहिने हो । जुन नेतालाई आफ्नै जनतासँग डर लाग्छ, ऊ नेता होइन, अपराधी हो ।’

उनको यस्तो अभिव्यक्ति धेरैका लागि प्रेरणाको विषय र केहीका लागि ईर्ष्या र जलनको विषय बन्न सक्छ । तर उनले आफ्नो भनाइलाई काम गरेर र जनताको मन जितेर प्रमाणित गरिदिएका छन् ।

को हुन् त इब्राहिम ट्राओरे ?
पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोका ३६ वर्षीय सैनिक शासक अर्थात् अन्तरिम सरकारका राष्ट्रपति हुन्– क्याप्टेन इब्राहिम ट्राओरे । उनको अप्रत्यासित उदय र शासन गर्ने शैली अफ्रिकाको पछिल्लो समयको उल्लेखनीय राजनीतिक घटनामध्ये एक मानिन्छ । सन् २०२२ को सेप्टेम्बरमा सैनिक सरकारविरुद्ध नै पुनः सैनिक कू गरी सत्तामा पुगेका ट्राओरे छोटो समयमा नै लोकप्रियता र चर्चाको शिखरमा छन् । उनको बोली, व्यवहार र नीति देखेर बुर्किना फासोका जनता मात्र होइन, सिङ्गो अफ्रिकी महाद्वीप उनलाई एक आदर्श नेता मान्न तयार छ ।

यदि नेतृत्वमा राष्ट्र प्रेम, दूरदृष्टि र इच्छाशक्ति छ भने असम्भव भन्ने केही हुँदैन, उमेर गौण विषय हो भनेर इब्राहिम ट्राओरेले विश्वलाई देखाइदिए । विश्वभर उनको प्रशंसा भइरहँदा अमेरिकालगायत पश्चिमा मुलुकहरू भने उनको बढ्दो लोकप्रियता र पश्चिमी मुलुकहरूप्रतिको नकारात्मक धारणाले डराइरहेका छन् भनिन्छ ।

देशको राजनीतिक अवस्था
बुर्किना फासो सन् १८९६ देखि सन् १९६० सम्म फ्रान्सको उपनिवेशका रूपमा थियो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भए पनि त्यो स्वतन्त्रता नाम मात्रको थियो । बुर्किना फासोमा भएका खनिज पदार्थ विशेष गरी सुन फ्रान्सकै नियन्त्रणमा थियो । परिणाम् सुन उत्पादन हुने देशका नागरिक भोक र रोगले ग्रस्त हुँदा सुनका कारोबारी भने मालामाल भइरहेका थिए । त्यसैले सत्तामा कसलाई पुर्याउने भन्ने फ्रान्सकै विवेकमा भर पर्दथ्यो । फ्रान्स आफूले चाहेको व्यक्ति सत्तामा पुर्याउँथे र आफ्नो अनुकूल निर्णय गराउँथे । यो क्रम लामो समयसम्म चलिरह्यो ।

सन् २०२२ सालमा ट्राओरेले सत्ता सम्हाल्नुअघिसम्म पनि बुर्किना फासोको आर्थिक र राजनीतिक अवस्था निकै जटिल, अस्थिर र समस्याग्रस्त अवस्थामा थियो । सन् २०२२ मा ट्राओरेले सत्ता कब्जा गर्नुअघि (विशेषगरी २०१५–२०२२) को बुर्किना फासोको अवस्थालाई यहाँ सङ्क्षेपमा चर्चा गर्नु समीचीन रहन्छ ।

राजनीतिक अवस्था (लोकतन्त्रको पुनस्र्थापना २०१५ पछि)
२०१४ मा लामो समय शासन गरेका राष्ट्रपति ब्लेज कम्पाओरेलाई जनविद्रोहबाट हटाइयो, त्यसपछि २०१५ मा रोच मार्क क्रिश्चियन काबोरे राष्ट्रपति चुनिए । काबोरेको शासन सुरुवातमा आशाजनक देखिए पनि पछि निकै आलोचित बन्न पुग्यो । सुरक्षा व्यवस्थापनमा सरकार चुक्यो, भ्रष्टाचार र प्रशासनिक कमजोरीको आरोप लाग्यो, चरमपन्थी हिंसाको तीव्र वृद्धि हुँदा सरकारले नियन्त्रण गर्न नसकेको जनस्तरमा गुनासो देखियो ।

सेनाभित्र पनि असन्तुष्टि चुलियो । सैनिकहरू सरकारसँग असन्तुष्ट थिए किनभने पर्याप्त सहयोग, शस्त्र र रणनीतिक योजना पनि थिएन । यही असन्तुष्टिबाट प्रेरित र प्रभावित भएर सन् २०२२ को जनवरीमा बुर्किना फासोमा पहिलो सैनिक कू भयो । सैनिक ‘कू’पछि पल हेनरी सान्डाओगो ड्यामिबा सत्तामा आसिन हुन पुगे ।

दोस्रो ‘कू’
ड्यामिबाको नेतृत्वमा पनि चरमपन्थी हिंसा रोकिएन । सेनाभित्र फेरि असन्तुष्टि बढ्यो, जसको परिणामस्वरूप इब्राहिम ट्राओरेले सेप्टेम्बर २०२२ मा दोस्रो पटक कू गरेर बुर्किना फासोको सत्ता आफ्नो कब्जामा लिए ।

आर्थिक अवस्था
बुर्किना फासो कृषिप्रधान देश थियो । यहाँका ८० प्रतिशत जनता कृषिमा निर्भर थिए भने सुन र कपास निर्यात हुन्थ्यो । कृषकले उत्पादन गरेको वस्तु बजारसम्म पुग्न पाउँदैनथ्यो । ग्रामीण क्षेत्रका बालबालिका या त स्कुल जाँदैन थिए, या त स्कुल जान उनीहरूले ठूलो कष्ठ उठाउनु पथ्र्यो । आर्थिक असमानताका कारण यहाँको ग्रामीण क्षेत्र र शहरी क्षेत्रको जीवनस्तरमा ठूलो अन्तर थियो । देशको उत्तर र पूर्वी क्षेत्रहरूमा इस्लामिक चरमपन्थी आक्रमणले व्यापार, कृषि, शिक्षा, स्वास्थ्य सेवालगायत सबै तहसनहस बनेको थियो । लाखौं नागरिक आन्तरिक रूपमा विस्थापित हुन बाध्य थिए । युवामा बेरोजगारी दर उच्च थियो । खाद्य सङ्कट, जलवायु परिवर्तन र सुरक्षाको अभावले ग्रामीण अर्थतन्त्र कमजोर थियो ।

बुर्किना फासो पहिले फ्रान्सको उपनिवेश भएकाले फ्रान्ससँगै सैन्य र आर्थिक निर्भर हुनुपथ्र्योे । तर जनस्तरमा पश्चिमी मुलुकहरूप्रति तीब्र असन्तुष्टि चुलिएको थियो ।

मुलुकमा सुरक्षा असफलता, राजनीतिक अस्थिरता, जनविश्वास गुमाएको अवस्था, सेनाभित्रको असन्तुष्टि र आर्थिक संकट जस्ता थुप्रै समस्याहरू रहेको पृष्ठभूमिमा सन् २०२२ मा ट्राओरेको उदय भएको थियो । त्यसबाहेक पनि मुलुक चरमपन्थी आतङ्क, भ्रष्टाचार, विकासको अभाव र अन्तर्राष्ट्रिय नीतिगत असहजतासँग जुधिरहेको अवस्था उनी सम्भावनाको नयाँ ज्योति बनेर बुर्किना फासोमा उदाएका थिए । उनका सामु चुनौतीका पहाड थिए ।

तर सत्तामा आउने बित्तिकै उनले विदेशी तागत वा विदेश नियन्त्रित सत्ता (फ्रान्स) लाई देशबाट निकाले, मुलुकमा उत्पादन हुने सुन पनि फ्रान्स, क्यानाडा, अस्ट्रेलिया, ब्रिटेनआदि देशको नियन्त्रणमा थियो । उनले विदेशीसँगको सम्झौता रद्द गरे र सुन उत्खनन् कार्यलाई राष्ट्रियकरण गरे । कच्चा सुनलाई मुलुक आफैंले निकाल्ने, प्रशोधन गर्ने र आफैं बजारीकरण गर्ने निर्णय लिए । देशको सुरक्षाका लागि रुस र इरानसँग मित्रताको हात मिलाए । गरिब जनताको लागि स्वास्थ्य सेवालाई निःशुल्क गरिदिए । आफ्नो कार्यालयमा भएको एसी हटाउन लगाएर भने– ‘जबसम्म मेरो देशका बालबालिका भोक र प्रचण्ड गर्मीमा रहन्छन्, तबसम्म म पनि एसीमा बस्दिन ।’

अनि उनले देशभरिका स्कुलहरूमा पङ्खा जोड्न लगाए । उनले शहरी क्षेत्रमा मात्र होइन, देशका ग्रामीण क्षेत्रमा पनि पक्की सडक निर्माण गर्न लगाए । हजारौं गरिब जनतालाई निःशुल्क घर निर्माण गरिदिए । यी उनका केही प्रतिनिधि कार्यहरू थिए, जसले उनलाई छोटो समयमा नै लोकप्रियताको शिखरमा पुर्याइदियो ।

युवा राष्ट्रपति ट्राओरेको काम गर्ने शैली र सोच देखेर रुसी राष्ट्रपति पुटिन समेत उनका मित्र बने र उनी भविष्यका इस्लामिक लिडर भन्नसक्ने सङ्केत गरे ।

तर मुलुकमा अचानक कुनै युवा नेताको लोकप्रियता बढ्न थाल्छ र उनको लोकप्रियताबाट जो जसलाई क्षति पुगेको आभास हुन्छ, तिनीहरू त्यसको विरुद्धमा लाग्छन् । ट्राओरेको जीवनमा पनि त्यस्तै भयो । उनको लोकप्रियता र निर्णयबाट आहत महसुस गर्ने स्वदेशी वा विदेशी शक्तिबाट उनलाई मार्ने १८ वटा प्रयास भए तर ती सबै असफल भए । अहिले बुर्किना फासोका तमाम जनता उनलाई आदर र सम्मान मात्र गर्दैनन्, उनको नेतृत्वमा मुलुकले समृद्धिको उचाइ छुनेमा विश्वस्त पनि देखिन्छन् । छोटो समयमा एउटा सैनिक शासक यस उचाइमा पुग्नुलाई सामान्य मान्न सकिन्न ।

अहिलेको अवस्था :
२ करोड ५५ लाख जनसङ्ख्या भएको, २,७४,२०० वर्ग किलोमिटर क्षेत्रफल भएको तथा ५० प्रतिशतभन्दा बढी मोस्सी जाती बसोबास गर्ने पश्चिम अफ्रिकी मुलुक बुर्किना फासो अहिले ३६ वर्षीय अन्तरिम सैनिक राष्ट्रपति इब्राहिम ट्राओरेको नेतृत्वमा गतिशील छ । लामो समयसम्म फ्रान्सको उपनिवेश रहेको र आर्थिक तथा सामाजिक रूपमा पछि परेको मुलुकलाई तिलस्मी रूपमा परिवर्तन गर्न सम्भव नहुन सक्छ ।

तर सन् २०२२ को सेप्टेम्बरदेखि शासन सत्ता हातमा लिएका ट्राओरेले जे जसरी मुलुकको नेतृत्व गरिरहेका छन्, त्यो देखेर संसार अचम्मित मानेर उनलाई र उनको गतिविधिलाई नियाली रहेछ । उनको दूरदृष्टि, राष्ट्रभक्ति र विकास–प्रेम देखेर सामाजिक सञ्जालमा जताततै उनको प्रशंसा देख्न सकिन्छ । उनी अफ्रिकी महादेशकै आशाका किरण बनेका टिप्पणी देख्न सकिन्छ ।

तर पनि ट्राओरेको पश्चिमाहरूप्रतिको नकारात्मक नीति तथा देशभित्रको बर्खास्तन क्षेत्र जिहादी हिंसाको केन्द्र बनेका कारण बुर्किना फासो केही अस्थिर देखिन्छ र सम्भावित सङ्कटबाट पूरै मुक्त पनि भइसकेको छैन । अस्थिरता र समस्याको कालो बादललाई चिर्दै बुर्किना फासोको भविष्य युवा राष्ट्रपति इब्राहिम ट्राओरेको सुझबुझ, दूरदृष्टि र कुशल नेतृत्वमा समृद्धिको मार्गमा गतिशील हुनेमा आशावादी बन्न सकिन्छ ।

(विभिन्न अनलाइनको सहयोगमा)

सम्बन्धित समाचार