बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँ र आठ मन्त्रीद्वारा शपथग्रहण

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आज दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको शपथग्रहण गराउनुभयो ।

प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित बानियाँले सोमबार प्रदेश प्रमुख देवकोटा समक्ष मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको थियो ।

मंगलबारै मुख्यमन्त्री बानियाँले एमालेबाट छ जना र कांग्रेसबाट दुई जना गरी आठ सदस्यीय मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।

बागमती प्रदेशका नवनियुक्त आठ मन्त्रीद्वारा शपथग्रहण


यसैगरी बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा आठ जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मुख्यमन्त्रीमा नियुक्त बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का छ जना र कांग्रेसबाट दुई गरी आठ जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री बानियाँको सिफारिसमा एमालेका मधुसुदन पौडेल कृृषि तथा पशुपंक्षी विकासमन्त्री, डा दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापा श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसी वन तथा वातावारणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा नियुक्त हुनुभएको छ ।

यस्तै कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्रीमा नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीहरूलाई मंगलबार प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।



सम्बन्धित समाचार