बागमती प्रदेश सरकारको प्रवक्तामा तामाङ

बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई दिइएको छ ।

प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ नेतृत्व सरकारको मंगलबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री तामाङलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

बैठकले प्राकृतिक विपत्तीका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारी निकायलगायत अन्य सङ्घसंस्थालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत समन्वयकारी ढङ्गले परिचालन गरिने निर्णय गरेको छ ।

प्रदेशभित्र उद्धार, राहत र प्रतिकार्यका लागि उच्चस्तरीय एकीकृत संयन्त्र बनाउने निर्णय गरिएको छ । प्रवक्ता तामाङका अनुसार संयन्त्रमा आन्तरिक मामिला तथा कानुनमन्त्री संयोजक एवं सम्बन्धित प्रशासनिक निकायका प्रमुखहरु सदस्यको रुपमा रहेनछन् । संयन्त्रलाई तयारी अवस्थामा राखी आवश्यक सामग्री तत्काल उपलब्ध गराउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी प्रदेशभित्र बाढीपहिरो जस्ता प्राकृतिक विपत्तीको कारण बासस्थान गुमेकालाई अस्थायी बसोबासको प्रबन्ध मिलाउने निर्णय भएको मन्त्री तामाङले बताउनुभयो ।

विपत्तीबाट क्षतिग्रस्त भएका सडकको सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा तत्काल मर्मत गरी सवारी आवागमनको प्रबन्ध मिलाउने निर्णय बैठकले गरेको छ ।

बैठकले प्रदेशसभाबाट पारित गरेको सङ्कल्प प्रस्तावलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । प्रदेशभित्र रहेका अतिविपन्न सीमान्तकृत समुदाय, वनकरियाको उचित बासस्थानलाई उच्च प्राथमिकता दिने निर्णय भएको मन्त्री तामाङले बताउनुभयो ।

कूल ९३ जना मात्र भएका वनकरिया मकवानपुरको मनहरी गाउँपालिकामा मात्र बसोबास गर्ने सीमान्तकृत तथा लोपोन्मुख जाति हो । आफ्नै नाममा जग्गा नभएका कारण सरकारी आवासको सुविधाबाट यो समुदाय वञ्चित भएको छ ।

मुख्यमन्त्री बानियाँले आफ्नो मासिक पारिश्रमिकबाट आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको एउटा अति सीमान्तकृत परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने घोषणा गरेको सरकारका प्रवक्ता तामाङले बताउनुभयो ।

आर्थिक अवस्थाको कारण स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीलाई निश्चित मापदण्डको आधारमा छात्रवृत्ति उपलब्ध गराउने निर्णय बैठकले गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार