नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० साउन ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि सुझाव सङ्कलन गर्ने काम भइरहेको छ ।
पार्टीले सुझाव सङ्कलनका लागि यतिबेला देशभर पार्टीका विभिन्न जिल्ला प्रदेशलगायत कमिटी र गैरभूगोलका कमिटीका बैठक आयोजना गरी विधान संशोधन प्रस्तावमाथि सुझाव सङ्कलन गरिरहेको छ ।
मानव अधिकार एलाइन्सले यहाँ कार्यशाला राखेर विधान संशोधन प्रस्तावमाथि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र केन्द्रीय कमिटी सदस्य तथा मानव अधिकार एलाइन्सका इञ्चार्ज विष्णु रिजालले विधान संशोधन प्रस्तावका बारेमा स्पष्ट गर्नुहुँदै थप सुझाव राख्न आग्रह गर्नुभएको थियो ।
कार्यशालालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य ढकालले विधानका सम्बन्धमा पार्टीभित्र विवाद सिर्जना गर्न खोजिए पनि त्यसलाई समाधान गरिएको बताउनुभयो । उहाँले पार्टीमा विवाद र विग्रह सिर्जना गर्ने प्रयास भए पनि त्यो सफल नहुने तथा पार्टी एकताबद्ध भएर अगाडि बढ्ने बताउनुभयो ।
केन्द्रीय सदस्य रिजालले पार्टी नेतृत्व आवश्यकताले निर्माण गर्ने जिकिर गर्दै अहिले पार्टीमा केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको स्पष्ट गर्नुभयो । उहाँले नेतृत्व निर्माणका लागि उमेरहद सर्वकालिक सिद्धान्त हुन नसक्ने स्पष्ट गर्दै नेपाली कांग्रेस जस्तो ठूलो प्रजातान्त्रिक पार्टीलेसमेत नेतृत्व स्वीकार गरिरहेको अवस्थामा अध्यक्ष ओलीको विकल्प सोच्न नसकिने धारणा राख्नुभयो ।
एलाइन्सका अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा भएको कार्यशालामा सहभागीहरूबीच समूहगत छलफल गरी सुझाव सङ्कलन गरिएको थियो । पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तयार गरिएको विधान संशोधन प्रस्ताव पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकबाट पारित भई सुझावका लागि मातहतका कमिटीमा पठाइएको हो ।
एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ ।
