बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, पाँच जना मन्त्रीले लिए शपथ

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गरी मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री बानियाँले शुक्रबार सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभा चामाङ, युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा बिनु रायमाझीलाई नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शपथग्रहण गराउनुभयो । यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले सोही दिन नौ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

यसअघि मुख्यमन्त्री बानियाँको सिफारिसमा कांग्रेसबाट शिवराज अधिकारीलाई बिना विभागीयमन्त्री र कृष्णा तामाङलाई खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री बन्नुभएको थियो ।

मन्त्री अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवार दिइएको छ । यस्तै मुख्यमन्त्री बानियाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मधुसूदन पौडेललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, भरत केसीलाई वन तथा वातावरण मन्त्री, जयराथ थापालाई श्रम तथा यातायात मन्त्री, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार