नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असोज ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा.प्र.०१-००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुली गोलन्जोर गाउँपालिका-५ घर भएका ३७ वर्षीय दिनेश थापाको गए राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यस्तै मोरङको ग्रामथान गाउँपालिका-७ स्थित सडकमा बिराटचोकबाट बिराटनगरतर्फ जाँदै गरेको प्र.१-०२-०४४ प ५६५४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीया सरिता सरदारको आइतबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको आर्या न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । यस्तै कपिलवस्तुको शिवराज नगरपालिका-५ खैरीस्थित सडकमा लु.५६ प ८५८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ बालापुर बस्ने २२ वर्षीय सुशिल सुनारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उता धनकुटाको धनकुटा नगरपालिका-९ पाँचगोलाईस्थित सडकमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र-३-०१-००३ क ६९०६ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर गए राति दुर्घटना हुँदा ट्रकका सहचालक उदयपुर रानीटार घर भएका १८ वर्षीय दिनेश क्षेत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्रक चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

