सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित सडकमा बा.६८ प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-३१ बानेश्वर बस्ने कैलाली गोदावरी गाउँपालिका-८ घर भएका २१ वर्षीय समिर चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै डोटीको बडिकेदार गाउँपालिका-३ देवलस्थित सडकमा सु.प.प्र.०१-००१ च ४६५१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई गए राति दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै पर्साको ठोरी गाउँपालिका-३ सिकारीबासपुलस्थित सडकमा बिजयबस्तीबाट ब्रहमानगरतर्फ आउँदै गरेको ना.२६ प ८३५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ ब्रहमानगर बस्ने २१ वर्षीय राजेश श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्पर्श अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उता उदयपुरको बेलका नगरपालिका-१ अम्बासीस्थित सडकमा भिमाबाट फत्तेपुरतर्फ जाँदै गरेको स.९ प ५११८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक चौदण्डीगढी नगरपालिका-९ भिमा बस्ने ४५ वर्षीय कारीचन चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी गोल्डेन अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको कोशी अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार