नवकान्तिपुर संवाददाता
काठमाडौं, १ कार्तिक ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । खोटाङको वराहपोखरी गाउँपालिका-३ सिन्ताङ बस्ने ७९ वर्षीय प्रेम दोर्जे लामा सोही ठाउँस्थित राप्चा खोला नजिकै शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ कङ्स डाँडा बस्ने ६० वर्षीय सानुकान्छा पाख्रिन सोही गाउँपालिका-४ छापडाँडास्थित फाखेल खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै बागलुङको बागलुङ नगरपालिका-३ गौडाकोटस्थित काठे खोलामा हाल नाम, थर र वतन नखुलेकी महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । उता सुनसरीको दुहवी नगरपालिका-३ स्थित सडक छेउको नालीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

