तिहार : प्रकाश, श्रद्धा र सम्बन्ध विस्तारको पर्व

हिन्दु धर्मका प्रमुख र लोकप्रिय चाडहरूमध्ये तिहार पनि एक हो । दशैंपछि लगत्तै आउने तिहारलाई प्रकाशको पर्व भनेर पनि चिनिन्छ । यो चाड केवल दियो र बत्ती बाल्ने उत्सवका रूपमा मात्र होइन, धार्मिक आस्था, पारिवारिक प्रेम, सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञताको प्रतीक पनि हो । पाँच दिनसम्म मनाइने तिहारलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकका हरेक दिनले जीवन, मृत्यु, प्रेम र समृद्धिसँग सम्बन्धित गहिरो आध्यात्मिक सन्देश दिन्छन् ।

तिहारको पहिलो दिन काग तिहार हो । हिन्दु विश्वासअनुसार कागलाई यमदूत अर्थात् मृत्युका सन्देशवाहकका रूपमा मानिन्छ । यस दिन कागलाई खाना खुवाउने र पूजा गर्ने परम्परा छ, जसको अर्थ– जीवनमा नकारात्मक पक्षबाट टाढा रहेर समाजमा सुख, शान्ति, समृद्धिको कामना गर्दै सकारात्मक सन्देश फैलियोस् भन्ने सन्देश दिनु हो । यसले जीवप्रतिको करुणा र प्रकृतिप्रतिको विचित्र सन्तुलनको भावना उजागर गर्दछ ।

दोस्रो दिन कुकुर तिहार मनाइन्छ । कुकुरलाई हिन्दु धर्ममा भैरवको वाहन र यमराजको द्वारपाल मानिन्छ । यस दिन कुकुरलाई टिका, माला र मिठा भोजन अर्पण गरेर उसको निष्ठा र सुरक्षाभावको सम्मान गर्ने गरिन्छ । कुकुर तिहारले दिने सन्देश हो– विश्वास, निष्ठा र सेवा नै जीवनका सच्चा सम्बन्धको आधार हो । कुकुरको स्वामी भक्ति र निष्ठालाई पनि उदाहरणीय मानिन्छ । यस स्वामीभक्त पशुबाट पनि मानिस कृतज्ञ हुने प्रेरणा लिन सक्छन् ।

तेस्रो दिन बिहान गाईको पूजा गरी गाई तिहार मनाइन्छ । गाईलाई हिन्दु धर्ममा लक्ष्मीको अवतार मानिन्छ । गाईको दूध, गोबर र मूत्र शुद्धता र जीवनदायिनी स्रोतका रूपमा लिइन्छ । गाई पूजाको दिन साँझमा धनधान्यकी देवी लक्ष्मीमाताको पूजा गरिन्छ, जुन तिहारको सबैभन्दा महत्वपूर्ण दिन पनि हो । यस दिनलाई दीपावली पनि भनिन्छ ।

दीपावलीको दिन दिउँसो घर, गाउँ, चोक र शहर सरसफाइ गरिन्छ र बेलुका दीप प्रज्वलन गरिन्छ । साँझमा धन–सम्पत्ति र समृद्धिकी देवी लक्ष्मीमातालाई आमन्त्रण गर्दै समृद्धि, सौभाग्य र शान्तिको कामना गरिन्छ । यस दिन प्रज्वलन गरिएका दियाहरूले केवल घर होइन, मनमा पनि आशा र प्रकाश फैलाउने विश्वास गरिन्छ । लक्ष्मीमाताको पूजापश्चात भैली खेल्ने प्रचलन छ ।

चौथो दिन बिहान गोरु तिहार मनाइन्छ । कृषकहरूको प्रमुख सहारा गोरुलाई पूजा गरेर कृषि र श्रमको महत्वको सम्मान र स्मरण गरिन्छ । यसै दिन गोवर्धन पूजा पनि गरिन्छ, जसले प्रकृति र भूमिप्रति कृतज्ञता प्रकट गर्न प्रेरित गर्दछ । यो दिनले ‘श्रम नै धर्म हो’ भन्ने सन्देश दिन्छ । मानिसलाई श्रमप्रति श्रद्धा र सम्मान गर्न सिकाउँछ ।

तिहारको अन्तिम दिन भाइ टीका हो, जसले सम्पूर्ण पर्वलाई भावनात्मक रूपमा बाँध्ने कार्य गर्दछ । दिदीबहिनीहरूले आ–आफ्ना दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै पञ्चरङ्गी टिका लगाइदिन्छन् । दाजुभाइहरूले पनि दिदीबहिनीलाई मायाको प्रतीकस्वरूप नगद र उपहार दिएर कृतज्ञता जाहेर गर्दछन् । यो दिनले पारिवारिक प्रेम, दाजुभाइ र दिदीबहिनीबीचको सु–सम्बन्ध र परस्पर सम्मानको सुन्दर परम्परालाई वर्षौंदेखि जोगाइरहेको छ ।

धार्मिक वा पौराणिक दृष्टिले तिहारलाई अन्धकार (अज्ञानता)माथि उज्यालो (चेतना, ज्ञान)को विजयको प्रतीकको रूपमा मानिन्छ । दीप बाल्नु आत्मज्ञान र सदाचारको प्रतीक हो । यस पर्वले जीवनमा सकारात्मक सोच, उज्यालो दृष्टिकोण र सामूहिक सद्भाव फैलाउने सन्देश दिन्छ ।

समाजशास्त्री र धार्मिक चिन्तकहरूका अनुसार तिहार जीव, मानव र प्रकृतिबीचको सामञ्जस्यको प्रतिरूप हो । यो पर्व केवल देवपूजासम्म मात्र सीमित छैन, यसले मानवता, पशु र प्रकृति सबैप्रति समान सम्मान र कृतज्ञता प्रकट गर्छ । आजको व्यस्त जीवनशैलीमा पनि तिहारले परिवारसँग समय बिताउने, सम्बन्ध सुधार्ने र संस्कृतिसँग पुनः जोडिने अवसर दिन्छ ।

तिहार हिन्दु सभ्यताको उज्यालो अध्याय हो- जसले धर्म, संस्कृति र मानव सम्बन्धबीचको सम्बन्धलाई थप सशक्त बनाउँछ । यो पर्वले दिने सन्देश भनेको औंशीको निस्पट्ट अँध्यारोलाई दियो र बत्तीले प्रकाशमय बनाएजस्तै मानिसभित्रको अज्ञानता र अचेतनाको अन्धकारकारलाई ज्ञान र चेतनाको दियोले दीप्तिमान बनाउन सके सामाजिक विभेद र मतभेदको अन्त्य भई सुन्दर समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने छ भन्ने नै हो ।

सम्बन्धित समाचार