नेपाली काङ्ग्रेसभित्र महाधिवेशन विवाद उत्कर्षमा, संस्थापन र इतर पक्षधरको आ–आफ्नै अडानमा

नेपाली काङ्ग्रेस, जसले नेपालको लोकतान्त्रिक इतिहासमा सबैभन्दा पुरानो र गहिरो योगदान दिएको दाबी गर्छ, अहिले आफ्नै पार्टी–इतिहासको सबैभन्दा कमजोर मोडमा उभिएको छ । पार्टीभित्र महाधिवेशन कहिले गर्ने भन्ने विवादले मात्र होइन, नेतृत्वको दिशाहीनता, संगठनको निष्क्रियता र आन्तरिक शक्ति संघषले काङ्ग्रेसलाई संकटतर्फ धकेलेको छ ।

महाधिवेशन नजिकिँदै जाँदा काङ्ग्रेस दुई धारमा बाँडिएको देखिन्छ । पहिलो संस्थापन पक्षधर जसमा सभापति शेरबहादुर देउवा, प्रकाशशरण महत, पूर्णबहादुर खड्का तथा रामचन्द्र पौडेल निकट कतिपय नेताहरू देखिन्छन् । दोस्रो संस्थापन इतर पक्षधर जसमा शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेल, प्रकाश रसाइली, सुनीलकुमार शर्मालगायत युवा पुस्ताको समूह देखिन्छ ।

संस्थापन पक्ष विशेष महाधिवेशन मंसिरमा नगरी वैशाखमा सार्नुपर्ने तर्क राख्दछ । उनीहरूको भनाइमा पार्टीले हालैका राजनीतिक चुनौती, गठबन्धनको पुनर्संरचना र आगामी चुनावी तयारीलाई प्राथमिकता दिनु पर्छ । अहिलेको समय महाधिवेशनमा अल्झेर शक्ति खर्च गर्ने होइन ।

तर, इतर पक्ष यस तर्कलाई केवल एउटा बहाना ठान्दछ । उनीहरूका अनुसार देउवा नेतृत्वले गर्दा पार्टीभित्र आन्तरिक लोकतान्त्रिक संस्कार हराउँदै गएको, निर्णय एकलौटी हुने गरेकोे र युवा पुस्ताको आवाजलाई दबाउने प्रयास भइरहेकोले त्यसलाई सच्याएर पार्टीलाई नयाँ ढङ्गले गतिशील गराउन पनि मंसिरमा नै महाधिवेशन गर्नु अनिवार्य छ ।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले केही दिनअघि सार्वजनिक रूपमा गगन थापा पक्षमाथि कटाक्ष गर्दै भनेका थिए– ‘महाधिवेशनको नाममा आतुरता देखाउनेहरूले पार्टीभित्र अनुशासन भङ्ग गरिरहेका छन् ।’

महतको यस अभिव्यक्तिले युवा पक्ष आक्रोशित बन्यो । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पनि महतलाई अप्रत्यक्ष रूपमा चेतावनी दिँदै भने— ‘तपाईं चुनाव जितेर नआएको मान्छेले पार्टी प्रवक्ताको हैसियतले यस्तो टिप्पणी गर्दा संस्थागत मर्यादा तोडिन्छ, धेरै नबोल्नुहोस् ।’

यसरी पार्टीभित्रको फरक मत र तनाव एकैचोटि सतहमा देखापर्यो । पार्टीका वरिष्ठ नेताहरूले समेत प्रवक्ताको भूमिका व्यक्तिगत नभएर पार्टीको आधिकारिक आवाज हुनुपर्नेमा जोड दिए ।

महाधिवेशन मंसिरमा कि वैशाखमा ?
महाधिवेशनको मिति नै अहिले काङ्ग्रेसभित्रको मूल विवादको कारण बनेको छ । संस्थापन पक्ष महाधिवेशनलाई आफ्नो पक्षमा पार्ने मनसायले मंसिरमा महाधिवेशन गर्ने आवाजलाई नजरअनदाज गर्दै वैशाखमा मात्र महाधिवेशन गर्न चाहन्छ । संस्थापन इतर पक्ष भनेर चिनिएको शेखर कोइराला–गगन थापा पक्षधर भने बदलिँदो परिस्थिति अनुसार मंसिरमा नै महाधिवेशन गरेर पार्टीका कमी कमजोरीहरू सच्याउँदै अगाडि बड्न चाहेको धारणा राख्दछ ।

मंसिरमा नै महाधिवेशन गर्न संस्थापन पक्षलाई दबाब दिन शेखर–गगन पक्षले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलन गरी तालिका सार्वजनिक गर्न दबाब दिइरहेको छ । उनीहरूले यथाशीघ्र महाधिवेशनको तालिका प्रकाशन गर्न अल्टिमेटम नै दिएका छन् । आगामी दुई दिनभित्र तालिका सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनीसम्म दिएका छन् ।

सबैको सहमतिको वातावरण बनाएर मात्र महाधिवेशनको मिति तय गर्नुपर्ने र पार्टीलाई फुटाउने होइन, अझ मजबुत बनाउनेतर्फ सबैले ध्यान दिनुपर्ने कुरामा दुबै पक्ष सहमत देखिए पनि त्यसका लागि तय गर्ने मार्गचित्र भने फरक फरक देखिएको छ । जस्तो संस्थापन पक्ष वैशाखमा महाधिेशन गर्ने कुरालाई ‘निरन्तरताको रणनीति’ भन्न रुचाउँछ भने इतर पक्ष त्यसलाई ‘केवल समय खेर फाल्ने बाहाना’ ठान्दछ ।

युवा पुस्ताको अडान
गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडल, गुरु घिमिरे, सुनील शर्मा, बहादुरसिंह लामालगायत युवा नेताहरूको एकमत अडान छ– निर्वाचन अघि महाधिवेशन हुनैपर्छ । यदि महाधिवेशन नगरी निर्वाचनमा जाँदा काङ्ग्रेससँग मतदाताको भरोसा जित्ने आधार बलियो हुँदैन । त्यसले पार्टीलाई अपूरणीय क्षति पुर्याउन सक्छ ।

नेकाका केन्द्रीय सदस्य बहादुर लामाको धारणामा ‘अहिलेको देशको बदलिएको परिस्थितिमा नयाँ, स्वच्छ र फ्रेस नेतृत्व लिएर काङ्ग्रेस चुनावमा गएमात्र मतदाताले केही हदसम्म काङ्ग्रेसलाई पत्याउन सक्छन् । दुई दशकदेखि उनै नेताहरूले नेतृत्व समालिरहँदा एकातिर काङ्ग्रेस स्थिर र निष्क्रिय पार्टी देखिने डर कायम रहन्छ भने अर्कोतिर चुनावमा मतदाताहरूलाई नयाँ जनादेशका लागि भन्ने नयाँ कुरा र रिझाउने बलिया आधार केही पनि हुँदैनन् ।’

नेपाली काङ्ग्रेस पार्टीमा मतभेदको मूल कारण सैधान्तिकभन्दा पनि जेनेरेशन ग्याप देखिन्छ । पुराना नेताहरू अनुभव र स्थिरताको कुरा गर्छन् भने युवा पुस्ताहरू भने पारदर्शिता, कार्यदक्षता र जनसरोकारको कुरा गर्छन् । जेन्जी आन्दोलनपछि काङ्ग्रेसले युवाहरूबीच गुमाएको साख र विश्वास फिर्ता गर्न नसकेको विश्लेषकहरूको ठम्याइ छ । सर्वेक्षणका अनुसार १८–३५ वर्ष उमेर समूहका करिब ६० प्रतिशत मतदाताहरू अहिले स्वतन्त्र उम्मेदवार वा वैकल्पिक पार्टीतर्फ आकर्षित रहेको देखिएको छ । यसबाट निश्चित रूपमा नेपाली काङ्ग्रेस पार्टी पनि प्रभावित हुनेछ ।

महाधिवेशन कहिले गर्ने भन्ने विवाद अब केवल मितिको बहस मात्र रहेन । यस विवादले नेपाली काङ्ग्रेसभित्रको भविष्यको नेतृत्व, पार्टीको वैचारिक दिशा र संगठनको अस्तित्व नै निर्धारण गर्नेछ । यदि काङ्ग्रेस पार्टीले अझै पनि सहमतिको बाटो नअपनाई आन्तरिक द्वन्द्वलाई बढावा दिइरह्यो भने आगामी निर्वाचनमा काङ्ग्रेसको स्थिति दयनीय हुन सक्ने कुरामा दुईमत नहोला ।

सम्बन्धित समाचार