नेपालमा जेनजी आन्दोलन : पृष्ठभूमि, अन्तर्राष्ट्रिय सन्दर्भ, प्रभाव र निकास

पृष्ठभूमि

नेपालमा ‘जेनजी आन्दोलन’ भन्नाले हालका युवापुस्ता- विशेषगरी सन् १९९७ देखि २०१२ का बीच जन्मेकाहरू जसलाई  ‘Generation Z’ अर्थात जेनजी भनेर सम्बोधन गरियो, द्वारा सुरु गरिएको सामाजिक, आर्थिक र राजनीतिक असन्तुष्टिको अभिव्यक्ति थियो भन्न सकिन्छ । यो आन्दोलनको सुरुवात सामाजिक सञ्जालबाट भएको हो, जहाँ युवाले रोजगारीको कमी, बेथिति, भ्रष्टाचार, महँगी, शिक्षा र स्वास्थ्य सेवामा असमानता र पुरानो पुस्ताले राजनीतिमा देखिएको अतिरिक्त आशक्तिपन र प्रभुत्ववादका विरुद्ध आफ्नो आवाज बुलन्द गर्दै भएको थियो ।

सन् २०२४ तिरदेखि नेपालमा टिकटक, एक्स र फेसबुकमार्फत् जेनजीमुभमेन्टनेपाल वा जेनजी आन्दोलनजस्ता ह्यासट्यागहरू ट्रेन्ड हुन थाले । सामाजिक सञ्जालमा आएका यस्ता विचारहरूप्रति सहमत हुनेहरूको सङ्ख्या ह्वात्तै बढ्दै गयो । अन्ततः यी विचारहरूमा सहमत हुनेहरू संगठित र आन्दोलित हुँदा यसले ऐतिहासिक आन्दोलनको रूप लिन पुग्यो । यो आन्दोलन पार्टीगत सीमाभन्दा बाहिर थियो र आन्दोलनले भ्रष्टाचार रोक्ने र भइरहेको व्यवस्थामा सुधारको मागलाई केन्द्रमा राखेको थियो ।

तर भ्रष्टाचार रोक्ने र भइरहेको व्यवस्थामा सुधार गर्ने भनेर आरम्भ भएको जेनजी आन्दोलनका नाममा जे भयो, त्यो अनपेक्षित थियो, घुसपैठ थियो । तत्कालीन सरकारको दम्भ र युवा आवाजलाई उपेक्षा गर्ने मनोरोगले गर्दा मात्र भदौ २३ र २४ का हिंसात्मक घटनाहरू घटित हुन पुगेका हुन् । तत्कालीन ओली सरकार गम्भीर भइदिएको भए क्षति कम हुन्थ्यो भन्ने कुरामा दुईमत नहोला ।

नेपालअघि जेनजी आन्दोलन भएका देशहरू

नेपालमा जेनजी आन्दोलन सुरु हुनुअघि, विश्वका विभिन्न देशहरूमा ‘जेनजी अपराइजिङ’ वा ‘युथ-लिड मुभमेन्ट’का नाममा यस्तै यस्तै प्रकृतिका आन्दोलनहरू देखिएका थिए । उदाहरणका लागि, सन् २०२० तिर अमेरिकामा Black Lives Matter (आरम्भ सन् २०१३) आन्दोलन, फ्रान्समा सन् २०२३ मा Climate Justice र Pension Reform विरुद्धका प्रदर्शनमा जेनजी मुभमेन्ट सक्रिय थिए ।

त्यस्तै दक्षिण कोरियामा No Japan / Anti-old Politics अभियान तथा भारतमा Unemployment Protests लगायतका आन्दोलनमा जेनजी युवाहरूका ठूला प्रदर्शनहरू भए । उता, इन्डोनेसिया, श्रीलङ्का र म्यान्मारतिर पनि युवाहरूले मौजुदा शासन प्रणाली, बेरोजगारी र भ्रष्टाचारविरुद्धको आवाज उठाएका थिए ।

त्यसले नेपालमा भएको जेनजी आन्दोलन कुनै आकस्मिक घटना थिएन, यो त दक्षिण एसियाली क्षेत्रको राजनीतिक चेतनाको नयाँ लहरको एउटा हिस्सा थियो । र यो आन्दोलन नै अन्तिम पनि नहोला । समयको आवाज र युवाहरूको शक्ति र सामथ्र्यलाई बुझ्न नसक्ने शासकहरू रहुञ्जेल यस्ता आन्दोलनको सम्भावना र सान्दर्भिकता रहिरहन्छ ।

आन्दोलनपछि मुलुकमा पर्न सक्ने प्रभाव

जेनजी आन्दोलनले नेपालको राजनीतिमा पर्न सक्ने सम्भावित प्रभावहरूको पनि सामान्य समीक्षा हुन जरुरी छ । अब, सम्भवतः पुराना दलहरूमा नयाँ पुस्ताको प्रवेश र सुधारको दबाब बढ्ने सम्भावना हुनसक्छ, पारदर्शीताको लागि नीतिगत छलफल र जवाफदेहीतामा अनलाइन प्रयोग बढ्नसक्छ, परम्परागत दास संस्कृतिबाट मुक्त हुँदै कार्यकर्तामा नेतृत्वलाई प्रश्न गर्ने संस्कृतिको विकास हुनसक्छ तथा आर्थिक सुधार र युवाहरूलाई रोजगारीतिर आकर्षित गर्न राज्यले स्टार्टअपका सुविधा दिनुपर्ने दबाब सिर्जना हुन सक्छ । यसो भएमा यसलाई जेनजी आन्दोलनको उपलब्धिका रूपमा लिनुपर्ने हुन्छ ।

सम्भावित निकास

जेनजी आन्दोलन एउटा ऐतिहासिक आन्दोलन थियो । लामो समयदेखि सरकारमा रहेर हालीमुहाली गर्ने तर देश र जनताका पक्षमा केही नगर्ने प्रवृत्तिका विरुद्धको आक्रोशका रूपमा उदाएको जेनजी आन्दोलन कुर्सीबाट केपी ओलीलाई उठाएर सुशीला कार्कीलाई पदस्थापन गर्नु मात्रमा सीमित बन्न सक्तैन । यसको निकास वा उद्देश्य यत्ति मात्र पनि होइन । झण्डै ८० जना युवाको बलिदानीबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न र दीर्घकालीन रूपमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि पनि आन्दोलनका जगमा स्थापित सरकारले केही ऐतिहासिक कदम चाल्नु वाञ्छनीय देखिन्छ ।

सरकारमा को को संलग्न भए भन्नु भन्दा पनि आन्दोलनका जगमा बनेको सरकारले युवा पुस्ताको माग र सपनालाई सम्बोधन हुने किसिमले काम गर्न सक्यो कि सकेन भन्ने किसिमले मूल्याङ्कन हुने हो । ०८४ हुने भनिएको चुनावलाई दुई वर्ष अगाडि सारेर गराउनु मात्र यस सरकारको भूमिका होइन । यत्तिका लागि मात्र आन्दोलन भएको होइन । धेरैवटा कामहरूमध्ये एउटा चाहिँ चुनाव गराउनु पनि हो ।

अहिलेका सरकारको मूलभूत काम भनेको वर्षौंदेखि राज्यको जिम्मेवार स्थानमा रहेर राज्यकोष दोहन गर्ने र भ्रष्टाचारमा संलग्नहरूको निष्पक्ष छानविन गरी प्राप्त प्रतिवेदनका आधारमा निर्मम भएर कार्वाही गर्ने नै हो । सुशासनका लागि यो अनिवार्य सर्त पनि हो । देश लुट्ने अपराधीहरूले कुनै पनि बाहनामा उन्मुक्ति पाउने अवस्था भयो भने यो सरकार पनि भ्रष्टाचारकै मतियार मानिनेछ ।

सरकारका अन्य कामहरूमा स्वस्थ, सभ्य र गतिशील समाज निर्माणको आधार तयार गर्ने, कानुन र सरकारको नजरमा सबै समान छन् भन्ने कुराको प्रत्यभूति दिने, सन्तुलित परराष्ट्र नीति अस्तियार गर्ने, आर्थिक गतिविधि पारदर्शी गर्ने, राज्यले युवाहरूको आवाजलाई संस्थागत रूपमा सुन्ने र नीति निर्माणमा सहभागी गराउने कार्यको थालनी गर्ने, समयसापेक्ष शिक्षा प्रणालीको विकास गर्ने, निर्णयहरू पारदर्शी र जवाफदेही बनाउन आधुनिक प्रविधिको प्रयोग गर्ने परिपाटीको विकास गर्ने, सामाजिक सञ्जाललाई वन्देज गर्नुको साटो व्यवस्थित, मर्यादित र अनुशासित बनाउने आदि हुन सक्छन् । राज्यलाई कर तिर्न पनि नागरिकले ठूलो हण्डर खानु पर्ने र दिनभरि लाइनमा बस्नुपर्ने स्थितिको अन्त्य गर्न पनि पहल गरिनु वाञ्छनीय हुनेछ ।

सारमा,

जेनजी आन्दोलन केवल असन्तुष्टिको विस्फोटन मात्र होइन, यो नेपालमा ‘नयाँ पुस्ताको पुनर्जागरण’ को बीजारोपण पनि हो । पुरानो विकृत राजनीतिक संस्कृतिबाट थाकेका, गलेका र निराश बनेका तर मनमा नयाँ जोस र जाँगर भएका युवाहरूले आन्दोलनमार्फत् केवल विरोध मात्र जनाएका होइनन्, मुलुकमा रचनात्मक र सकारात्मक परिवर्तनको माग पनि गरेका हुन् । सीमान्तकृत जनताले प्रत्यक्ष अनुभूत गर्ने किसिमको परिवर्तनको कामना समेत गरेका हुन् ।

राज्य, दल र समाजले यस आन्दोलनलाई अवसरका रूपमा लिने हो भने पक्कै पनि यसले नेपाल र नेपालीको भाग्य र भविष्य निर्माण गर्न अनुकूल वातावरण तयार पार्ने छ, तर यदि फेरि पनि अभिमानपूर्वक बेवास्ता गरिएमा यही असन्तोषको लहर मुलुकमा दीर्घकालीन अस्थिरताको कारण पनि बन्न सक्छ । परिवर्तित समयको चापलाई व्यक्ति, दल वा सरकार कसैबाट पनि अवमूल्यन गरिनुहुन्न । अब उठ्ने अस्थिरताको आँधीले धेरै कुरा उडाएर लैजान सक्छ ।

सम्बन्धित समाचार