जेनजी आन्दोलनका आलोकमा समृद्धिको सपना देख्ने नेपाली जनता :  के फेरि निराश हुनुपर्ने हो ?

नेपालमा मुलुकको समृद्धि र जनताको अवस्था परिवर्तन गर्ने नाममा धेरै आन्दोलनहरू र द्वन्द्वहरू भए । सायद विश्वमा विरलै यस्तो देश भेटिएला जहाँ केही दशकको अन्तरालमै यति धेरै आन्दोलन, द्वन्द्व र सत्ता–परिवर्तनका खेल भएका हुन्। जनताको अधिकार, स्वतन्त्रता र समृद्धिको नाममा २००७ सालदेखि २०६२/६३ सालसम्म देशले पटक-पटक आन्दोलनको आँधी बेहोरेको छ। तर विडम्बना, जनताका आकाङ्क्षा भने अझै अधुरा छन् र समृद्धिको सपना अझै टाढाको कुरा बनेको छ।

नेपालमा भएका आन्दोलनहरू र परिवर्तनको अपेक्षा

विसं २००७ सालको क्रान्तिबाट सुरु भएको राजनीतिक यात्राले ००७ सालमा राणा शासन अन्त्य गर्‍यो तर पनि जनजीवनमा अपेक्षित सुधार ल्याउन सकेन। विसं २०१७ सालमा पञ्चायती व्यवस्था प्रादुर्भाव भयो । त्यसका विरुद्ध  २०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्था पुनर्स्थापित गर्‍यो l  विसं २०६२/६३ सालको जनआन्दोलनले राजतन्त्र अन्त्य गर्दै गणतन्त्रको घोषणा गर्‍यो। यी सबै आन्दोलनहरूको मूल उद्देश्य थियो- जनताको मुहार बदल्ने। तर आज ३६ वर्षपछि पनि नागरिकले जीवनको आधारभूत आवश्यकताका लागि संघर्ष गर्नुपरेको अवस्था छ l नागरिकका आधारभूत आवश्यकता पनि पूरा गर्न नसकेका ती आन्दोलनहरूको सार्थकतामाथि अहिले प्रश्न उठेको छ ।

जेनजी आन्दोलनबाट गरिएको आशा

पछिल्लो समय देखा परेको जेनजी आन्दोलनले देशको राजनीतिक निराशामा एउटा नयाँ उत्साह ल्याएको थियो। पुराना दलहरूबाट वाक्क जनताले नयाँ पुस्ताबाट ‘अब केही होला कि’ भन्ने आशा गरेका थिए। आन्दोलनले निराशाको प्रतीक बनेको एउटा बूढो रुख ढालेको थियो । भ्रष्टाचारविरुद्धको आवाज, सुशासन र उत्तरदायित्वको मागसहित उठेको यस आन्दोलनले ओली सरकार ढालेको थियो ।

तर, समयसँगै यो आन्दोलन पनि अलमलमा पर्दै गएको देखिन्छ । आन्दोलनका जगमा बनेको सरकारले दुई महिना पार गरिसक्ता पनि उल्लेखनीय केही गर्न सकिरहेको देखिन्न । सुशीला कार्कीको सरकार अलमलमा परेको देखेर पुराना शक्तिहरू पुनः चलमलाउन थालेका छन् । राजनैतिक प्रतिशोधका कारण जेलमा परेका रवि लामिछानेजस्ता व्यक्तिहरू अझै पनि जेलमा छन्, जबकि भ्रष्टाचारका अभियोग भोगिरहेका, जनतामाथि गोली चलाउने आदेश दिने, मानवअधिकार उल्लङ्घन गर्नेहरू तथा ठूला ठूला भ्रष्टाचारका मुद्दामा बदनाम भएकाहरू अझै पनि कानुनी पहुँचभन्दा बाहिर छन्। यसले जेनजीको आन्दोलनका बलमा बनेको सरकारको सुशासनप्रति फेरि आशङ्का गर्ने ठाउँ बनाएको छ। स्मरणयोग्य कुरा के हो भने ओलीको ठाउँमा कार्कीलाई पदस्थापन गर्नुमात्र जेनजी आन्दोलनको उद्देश्य थिएन ।

पुराना दलको पुनरागमनको जोखिम

यदि यथास्थितिमा घोषित मितिमा चुनाव भयो भने राजनीतिक समीकरण फेरि पनि पुरानै दलहरूकै पक्षमा जाने संकेत देखिन्छ। जनताले नयाँ शक्ति र आमुल परिवर्तनको आशा गरेका थिए तर वर्तमान अस्थिरता र नेतृत्वको अस्पष्ट दिशाले पुराना दललाई फेरि सशक्त बनाइरहेको छ। गुण्डुको आवाजको तरङ्ग क्रमशः बढ्दै गएको छ । सिंगापुरबाट आएको तरङ्गले काङ्ग्रेसमा हलचल ल्याइसकेको छ । कतिपय दलहरू शक्ति सञ्चयका लागि घेराबन्दी गर्ने कसरतमा जुटेका छन् । यी सबैको साझा उद्देश्य भनेको जेनजीको उपलब्धि र जनताको अपेक्षामाथि आक्रमण गर्नु हो ।  यदि पुराना दलहरू आफ्नो अभीष्टमा सफल भए भने ‘आन्दोलन’ शब्दकै बद्नाम हुने निश्चित छ । र, ‘अनुभवविहिन युवाहरूबाट केही हुन सक्तैन’ भन्ने नजिर स्थापना हुनेछ ।

प्रायः हरेक आन्दोलनपछि सत्ता परिवर्तन भएको छ तर अवस्था यथावत छ । परिवर्तन सधैं सत्ता परिवर्तनको समानार्थी बनेको छ- प्रणाली सुधारको होइन। यो सोच बदलिएन भने आन्दोलनका नारा जति आकर्षक भए पनि परिणाम उस्तै रहने छ । अनि नेपाली जनता भन्न बाधय हुनेछन्-  जुन जोगी आए पनि कानै चिरिएको !

चीन र भारतको समृद्धि र नेपाल

नेपालका छिमेकी चीन र भारतले पछिल्ला दशकमा अर्थतन्त्र, पूर्वाधार र प्रविधिको क्षेत्रमा चमत्कारिक प्रगति गरेका छन्। चीनले विश्वको दोस्रो ठुलो अर्थतन्त्रको हैसियत पाएको छ, भारतले डिजिटल र नवप्रवर्तन क्षेत्रमा विश्वलाई चकित पारेको छ।

तर यी दुई महाशक्तिबीचको नेपाल आज पनि राजनीतिक अस्थिरता, रोजगारीको अभाव र भ्रष्टाचारको दलदलमा फसेको छ। विडम्बना मान्नुपर्छ, जुन देशले ८० वर्षअघि विद्युत् उत्पादन थालेको थियो, त्यही देश आज पनि लोडसेडिङ र इन्धन अभावको बहानामा आन्दोलन गरिरहेको छ l चीन र भारत नेपालका लागि विकास मोडेलका हिसाबले दुई खुल्ला विश्वविद्यालयहरू हुन् तर हामीले तिनीहरूबाट केही सिक्ने प्रयास नै गरेनौं ।

अब आन्दोलन होइन, उत्तरदायी सरकार चाहिन्छ

प्रश्न उठ्नुपर्ने हो- हामी कहिलेसम्म आन्दोलन गरिरहने ? हामीले हरेक आन्दोलनमा बलिदान दिएका छौं, आशा बाँडिरहेका छौं तर पनि परिणाम शून्य किन हुन्छ ? यदि आन्दोलनको उद्देश्य केवल सत्ताको हस्तान्तरण मात्र हो भने त्यसले जनताको जीवनमा कहिल्यै अर्थपूर्ण सुधार ल्याउन सक्दैन।

त्यसैले पनि अब  संवेदनशील नेतृत्व र उत्तरदायी शासन प्रणाली आवश्यक छ । न्याय सबैका लागि समान होस्, कानून शक्तिशाली व्यक्तिको रक्षा कवच मात्र नबनोस् बरू जनताको ढाल बनोस् l राज्यको प्राथमिकता राजनीतिक लाभको लागि मात्र होइन, नागरिकको जीवनस्तर सुधार गर्ने खालको बनोस् ।

सारमा भन्नुपर्दा जेनजी आन्दोलनले एउटा नयाँ चेतना जगाएको अवश्य हो तर त्यो चेतना साकार नहुँदासम्म परिवर्तनको प्रत्याभूति भएको महसुस हुँदैन। नेपाललाई अब नाराभन्दा परिणाममुखी राजनीति र कुराले होइन, कामले परिवर्तनको प्रत्याभूति गराउन सक्ने नेतृत्व चाहिएको छ। जनताले बारम्बार आन्दोलनमा जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ l नेपाल आन्दोलन गर्ने देश मात्र होइन, समयसापेक्ष उत्तरदायित्व पूरा गर्ने राष्ट्र बन्नु पर्छ । पटक पटक नागरिक निराश बन्ने अवस्था आउनु हुन्न ।

 

सम्बन्धित समाचार