नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कात्तिक ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका-३ बरगाछीचोक नजिक सडकमा डब्लुबि ५९ सि ०२४८ नम्बरको ट्रकले प्रदेश.२-०३-०११ प ४३४१ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सर्लाही हरिपुर नगरपालिका-१ बस्ने ४५ वर्षीया रोहिता अधिकारी कोइरालाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका-६ गछियास्थित सडकमा को.१३ प ७४५९ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश.०३-००१ ख २०६३ नम्बरको ट्रकले मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलले प्र.१-०२- ००३ ह ४०९९ नम्बरको सिटी सफारीलाई ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । सिटी चालक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै चितवनको इच्छाकामना गाउँपालिका-२ हपनीस्थित सडकमा फिस्लिङबाट हपनीतर्फ जाँदै गरेको बागमती प्रदेश.०१-००२ झ ६६६२ नम्बरको बोलेरो मंगलबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार सोही गाउँपालिका-२ बस्ने ८० वर्षीय वीर बहादुर प्रजाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य दुई जनाको सोही अस्पतालामा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मकवानपुरको बकैया गाउँपालिका-३ हात्तिसुडेस्थित सडकमा हेटौंडाबाट फापरबारीतर्फ आउँदै गरेको बा.५८ प ३३१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७१ वर्षीय खडक बहादुर घलानको मंगलबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता रूपन्देहीको शुद्धोधन गाउँपालिका-६ हलबादीस्थित सडकमा हरैयाबाट दुबौलीतर्फ जाँदै गरेको लु.९४ प ३६०८ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक कञ्चन गाउँपालिका-३ हरैया बस्ने २८ वर्षीय धिरेन्द्र कुमार चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक हस्पिटल बुटबलमा उपचारको क्रममा मृत्यु भएको हो । यता गुल्मीको मदाने गाउँपालिका-४ म्यालपोखरीस्थित सडकमा बिपी चोकबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु.३ त ७७३८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय अनिल कुँवरको मंगलबार राति मृत्यु भएको छ ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

