

कसैले अपेक्षा गरेका थिएनन्, ७२ घण्टाभित्र यतिसम्म हुन सक्छ भनेर । देश २७ घण्टाकै घटनाले थिलोथिलो मात्र बनेन, एउटा निर्विकल्प भनिएको सरकार ढलेर नागरिक समाजको नयाँ सरकार बन्यो । देशले होनाहार ७८ जना युवा गुमायो । तर हाम्रो दुर्भाग्य, देशले आफ्नो भाग्य विधाता युवा गुमाएर शोकमग्न भएका बेला जो-जसका कारण यत्रो घटना घटित हुन पुग्यो, उनीहरूले औपचारिकताका लागि पनि गोहीका आँशुसम्म झारेनन् । उनीहरूमा आत्मग्लानी, संवेदना वा जिम्मेवारीबोधको कुनै संकेत देखिएन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकका अभिव्यक्तिहरू अझै पनि त्यत्तिकै अहंकारी, तुच्छपूर्ण र कटाक्षपूर्ण आइरहेका छन् । उनीहरूको व्यवहारले “यो मुलुकमा आफू बाहेक कोही नेतृत्व योग्य छैन” भन्ने घमण्डलाई झल्काइदिएको छ ।
सरकार, सुरक्षा निकाय र निर्वाचन प्रणालीसम्मलाई अवहेलना गर्नु, आफूलाई सर्वेसर्वा ठान्दै हिटलर शैलीमा प्रस्तुत हुनु जस्ता अभिव्यक्ति र गतिविधिहरूले जनता थप निराश बनेका छन्। नेताहरूको अस्वभाविक अहमले आगामी निर्वाचनमा चर्को मूल्य चुकाउनु पर्ने सङ्केत मतदाताले गरेका भए पनि परिणाम् के हुन्छ त्यस्सै भन्न सकिने अवस्था छैन ।
कम्युनिस्ट दलभित्रको फुट र काङ्ग्रेसमा आन्तरिक किचलो
कम्युनिस्ट आन्दोलनको नाममा दशकौँदेखि नेतृत्व गर्दै आएका दलहरू अहिले आपसी लडाइँमै व्यस्त देखिन्छन्। नेकपा (एमाले) र हालै नवगठित नेपाली कम्युनिस्ट पार्टीबीचको वाकयुद्धले मुलुकको राजनैतिक परिस्थितिलाई अझ जटिल बनाइदिएको छ।
उता, नेपाली काङ्ग्रेस आन्तरिक गुटबन्दी, महाधिवेशनको तयारी र नेतृत्व विवादमा विगत दुई महिनादेखि उही चक्रमा घुमिरहेको छ । देश गम्भीर मोडमा पुगिरहेको बेला मुख्य दलहरू तिनै पुराना समस्यामा जकडिनु नागरिकका लागि निराशाको विषय बनेको छ।
नयाँ दलहरूमा पनि अहंकार, फुट र आरोप–प्रत्यारोप
नेपालमा नयाँ दल दर्ताको लहर चलेको छ। तर तीमध्ये धेरै दल आपसी अस्थित्व नस्वीकार्ने, नेतृत्वबारे दम्भ देखाउने र व्यक्तिगत आकांक्षामा मात्रै केन्द्रित देखिन्छन्। कुनै बेला सिङ्गो देशले आशा गरेको रास्वपा पनि केही अति आकाङ्क्षीहरूको चलखेलले गर्दा आन्तरिक रूपमा कमजोर बन्दै गइरहेको देखिन्छ।
अध्यक्ष रवि लामिछानेले हिजो सामाजिक पहिचानसम्म नभएका युवालाई सडकबाट उठाएर संसदसम्म पुर्याए । कतिलाई मन्त्री पनि बनाए । रवि नभएको भए रास्वपा जन्मिने सम्भावना नै थिएन, ती नेताहरू सांसद हुने सम्भावना झन थिएन l तर आज सामाजिक पहिनान बनाएपछि तिनै व्यक्तिहरू स्वार्थ र अवसरको खोजीमा रास्वपा छाड्दै हिँडिरहेका छन्। हिँड्नेले कुतर्क जे गरे पनि नेपालका हरेक पार्टीको साझा समस्या हो यो ।
एउटा दलविशेषसँग आबद्ध भएर स्वार्थसिद्ध भएपछि ठूलो भाग खोज्न अर्को दलको प्रलोभनमा पोइल जाने वा दलभित्रको किचलो व्यवस्थापन गर्न नसकेर कुनै बाहना बनाएर भाग्नेहरूलाई जनताले नै दण्डित गर्न नसक्ने हो भने यस रोगले सिङ्गो देश नै अस्थिर बन्न सक्छ ।
जेनजी : एउटा आशाको किरण
पुराना दलको भ्रष्टाचार, दम्भ र कुसुशासनका कारण नै जेनजी नयाँ विकल्प बनेको हो। भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्ने र सुशासनलाई प्राथमिकता दिने उद्घोष गरेको यस पुस्ताले पुराना दललाई चुनौती दिएको छ। तर चुनौती दिनु र गरेर देखाउनु फरक कुरा हो । त्यसका लागि जेनजीले धेरै होमवर्क गर्न भने बाँकी छ ।
तर जेनजीले अहिलेसम्म स्पस्ट नीतिगत अवधारणा बनाइनसक्नु, जेनजीहरूका बीच एकताको अभाव रहनु र फरक फरक रूपमा प्रस्तुत हुनुले परिवर्तनको अपेक्षामा बसेका नेपाली जनतालाई निराशा बनाउने त होइनन् भन्ने आशङ्का पनि त्यतिकै प्रबल छ । जेनजी विभाजित हुँदै गए भने सत्ता पुनः पुराना दलले कब्जा गर्ने छन् । मुलुकमा त्यस्तो अवस्था आए नेपाली जनता फेरि निराश बन्ने छन् र नयाँ पुस्ताले पनि सधैका लागि विश्वास गुमाउने छन् ।
सबै नीतिलाई प्रभावित बनाउने राजा नीति नै राजनीति हो । राजनीति राजनीति जस्तो भएन भने देश अराजक र भाँडभैलोमा परिणत हुन्छ । गत ३५/३६ वषैदेखि नेतृत्वमा रहेका दल र दलका नेताले देशलाई तहसनहस बनाएकोले आम नेपालीहरूले जेनजीहरूबाट केही सकारात्मक आशा राखेका छन् । जेनजीले समयको यस आवाजलाई बुझेर अगाडि बड्न सके भने त्यो जेनजीलाई जेनजी आन्दोलनको सार्थकता सिद्ध गर्ने ठ्रलो आधार हुनेछ भने त्यसले सिङ्गो देशलाई नयाँ ढङ्गले दिशा निर्देश गर्ने छ l यसले नेपालीहरूको मर्न लागेको आशा फेरि पुष्पित र पल्लवित हुने अवसर पाउने छ।
जेनजी एउटा आशाको किरण हो, निराशाबीचको एउटा आशाको बिम्ब पनि हो । तर जेनजीहरूबीच पनि अहङ्कार र मपाईत्वले स्थान पायो भने त्यो सबैका लागि र सधैंका लागि ठूलो दुर्भाग्यको विषय बन्ने छ । अनि, युवाहरूप्रति वितृष्णा बढेर युवाहरू भनेको दिशाविहीन आक्रोशको भीडमात्र हो भन्ने भाष्य स्थापित हुन सक्छ । त्यसैले पनि जेनजीका पाइलाहरू संयमित, योजनाबद्ध र स्पष्ठ लक्ष्यसहितको हुन जरुरी छ । यसैले मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने छ ।
