मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त

मधेस प्रदेशसभाको जनकपुरधाममा बुधबार बसेको बैठकले सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गरेको छ । सभामुख मण्डलविरुद्ध सात दलका ६४ जना प्रदेशसभाका सदस्यहरूले दर्ता गराउनुभएको महाअभियोग प्रस्ताव प्रदेशसभाको बैठकले बुधबार पारित गरेको हो ।

मधेस प्रदेशसभामा उपस्थित रहनुभएका ७८ प्रदेशसभा सदस्यमध्ये ७६ ले महाअभियोगको प्रस्तावको पक्षमा मत दिनु भएकाले उक्त प्रस्ताव दुई तिहाइले पारित भएको हो ।

दुई तिहाइका लागि ७२ जना प्रदेशसभा सदस्य चाहिएकामा त्यसभन्दा बढी भएकाले उक्त प्रस्ताव पारित भएको छ । प्रस्तावका विपक्षमा कुनै पनि मत नपरेको बैठकको अध्यक्षता गरिरहनुभएका उपसभामुख बविता राउत ईशरले प्रदेशसभाको बैठकमा घोषणा गर्नुभयो ।

मत विभाजनका आधारमा महाअभियोग माथि प्रस्ताव माथि छलफल तथा प्रदेशसभाको बैठकले निर्णय लिएका कारणले आजैको मितिदेखि प्रदेशसभा नियमावली तथा नेपालको संविधानअनुसार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल सभामुख पदबाट पदमुक्त हुनु भएको घोषणा उपसभामुख बविता राउत ईशरले गर्नुभयो ।

सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्ने प्रस्ताव नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले गराउनुभएको थियो । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पदअनुसारको आचरण नगरेको भन्दै कात्तिक २७ गते उपसभामुख बविता राउत ईशरको तोक आदेशमा प्रदेशसभाका सचिव होमनाथ पहाडीले उक्त प्रस्ताव प्रदेशसभामा दर्ता गर्नुभएको थियो ।

मधेस प्रदेशमा रहेका विभिन्न दलका ३२ जना प्रदेशसभाका सदस्यहरूले प्रदेशसभाको बैठक बोलाउनका लागि हिजो उपसभामुखलाई आग्रहसहितको पत्र बुझाएपछि आज दिउँसोका लागि उपसभामुखले बैठक बोलाउनुभएको थियो ।

यसरी धारणा राख्नेमा नेपाली कांग्रेसका प्रदेशसभाका सदस्यहरू जीवछी यादव, जसपाका प्रदेशसभाका सदस्य मनिषकुमार सुमन तथा सञ्जयकुमार यादव, उपेन्द्र महतो, जवाहरलाल कुशवाहासहितका प्रदेशसभाका सदस्यहरू रहनुभएको थियो ।

यसैगरी, बैठकमा प्रदेशसभाका पाँच जना सदस्यलाई पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पत्र बैठकको अध्यक्षता गरिरहनुभएका उपसभामुख बविता राउत ईशरले पढेर सुनाउनुभएको थियो ।

यसैबीच, मधेस प्रदेशसभाका प्रदेशसभा सचिव वासुप्रसाद कोइरालाबाट जारी सूचनामा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८० बमोजिमको प्रस्ताव सोही नियमावलीको नियम १८२ को उपनियम (४) बमोजिम सभाको दुई तिहाइ बहुमतबाट पारित भई नेपालको संविधानको धारा १८२ को उपधारा (६) को खण्ड (ग) र नियमावलीको नियम १८२ को उपनियम (४) बमोजिम सभामुख रामचन्द्र मण्डल स्वतः पदमुक्त भएको उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार