

कुनै पनि देशले आफ्नो विकास गर्दा त्यसको भौगोलिक विशिष्टताका आधारमा गर्नुपर्छ । नेपालको भौगोलिक विशिष्टता भनेको प्रकृति र संस्कृति नै हो । प्रकृति र संस्कृतिको जगेर्ना गर्दै पर्यटक भित्र्याउन सकेमा आर्थिक विकास सम्भव छ । यसैले मुलुकको दिगो विकास हासिल गर्ने मुख्य क्षेत्र भनेकै पर्यटन हो । पर्यटन क्षेत्रको प्रवर्द्धनबाट फराकिलो आर्थिक वृद्धि, समावेशी विकास तथा वातावरणमा दिगोपना ल्याई जलवायु परिवर्तनबाट हुने जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने तथ्य स्थापित भएको छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं सामाजिक विविधताले भरिएको हुँदा नेपाल विश्वको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ ।
नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक र लगानी भित्र्याउने प्रभावकारी माध्यम भनेको पर्यटन क्षेत्र नै हो । छिमेकीलगायत अन्य मित्रराष्ट्रहरुसँगको असल सम्बन्धबाट नै ती देशका नागरिकलाई आकर्षित गर्न सकिन्छ र त्यहाँका लगानीकर्ताहरुलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने वातावरण बन्नसक्छ । आजको अन्तरराष्ट्रिय सम्बन्ध वैदेशिक व्यापार, वैदेशिक सहायता, वैदेशिक लगानी, पर्यटन, वैदेशिक रोजगारी, सांस्कृतिक सम्बन्ध, भूराजनीतिक सन्तुलनलगायतका विषयहरूका आधारमा निर्धारण गरिने अवस्था सिर्जना भएको छ । वर्तमान अन्तरराष्ट्रिय सम्बन्ध आर्थिक सवालहरूको वरिपरि केन्द्रित रहनेगरी परम्परागत कूटनीतिको स्थान आर्थिक कूटनीतिले प्रतिस्थापन गरेको छ ।
कूटनीति र पर्यटन आपसमा गहिरो सम्बन्ध राख्ने दुई महत्वपूर्ण क्षेत्रहरू हुन् । कूटनीतिले अन्तरराष्ट्रिय सम्बन्ध सुधार्न, सांस्कृतिक आदान–प्रदान बढाउन र देशको सकारात्मक छवि निर्माण गर्न मद्दत गर्छ, जसले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्छ । देशको कूटनीति प्रभावकारी भएमा त्यसले पर्यटन उद्योगलाई प्रत्यक्ष रूपमा फाइदा पु-याउन सक्छ । कूटनीति र पर्यटनबीचको सहकार्यले आर्थिक उन्नति, सांस्कृतिक आदान–प्रदान र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्न ठूलो भूमिका खेल्छ । पर्यटनबाट आएको राजस्वले देशको आर्थिक वृद्धिमा योगदान पु-याउँछ, जसका लागि स्थिर अन्तर्राष्ट्रिय सम्बन्ध आवश्यक हुन्छ । कूटनीतिक माध्यमबाट पर्यटन विकासमा जोड्न सकिने मुख्य क्षेत्रहरुमा सांस्कृतिक कूटनीति, भिसा नीतिहरू, कुटनीतक नियोगहरुमार्फत प्रचारप्रसार तथा सुरक्षा र स्थिरताको सन्देश प्रवाहलाई लिन सकिन्छ ।
नेपालमा रहेका विदेशी र विदेशमा रहेका नेपाली कन्सुलर मिसनहरूले आगामी दिनमा पनि पर्यटन क्षेत्रहरूलाई विशेष रूपमा प्रवर्द्धन गर्न सक्छन् । साहसिक पर्यटन जस्तै हिमाल आरोहण, पदयात्रा, पर्वतारोहणको सम्भावनाको बारेमा जानकारी गराउन सकिन्छ । पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथजस्ता धार्मिक क्षेत्रहरुको महत्वका बारेमा प्रचारप्रसार गरी हिन्दू तथा बौद्ध पर्यटकहरुलाई आकर्षण गर्न सकिने प्रशस्त सम्भावना छ । नेपालमा रहका झन्डै डेढ सय जातजाति र तिनका सांस्कृतिक पक्षहरुलाई उजागर गर्न सकिए सांस्कृतिक पर्यटनको माध्यमबाट लाखौँ पर्यटकलाई आकर्षित गर्न र बसाइ अवधिलाई लम्ब्याउन सकिन्छ । यी विभिन्न सम्भावनाहरुलाई उपयोग गर्नका लागि भिसा तथा अध्यागमन प्रक्रियामा अझ सहजता ल्याउनुपर्ने हुन्छ ।
त्यस्तै पूर्वाधार तथा सेवाको स्तर सुधार गर्नुपर्ने र सुरक्षा तथा स्वास्थ्य सेवाहरूलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ । साथै, आजको प्रविधिको युगमा अन्तरराष्ट्रियस्तरमा ‘डिजिटल मार्केटिङ’ प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने हुन्छ । डिजिटल मार्केटिङ अभियानहरू अन्तर्राष्ट्रिय मिडिया, सामाजिक सञ्जालहरुमार्फत सञ्चालन गर्न सकिन्छ । भिसा प्रणाली सुधार गरी ई–भिसा, अन–एराइभल भिसा अझ सहज बनाउने, सांस्कृतिक तथा खेलकुद पर्यटन प्रवर्द्धन गर्दै नेपाललाई बहुपक्षीय पर्यटन हब बनाउनेतर्फ ध्यान दिन जरुरी छ । पर्यटन पूर्वाधार विकास गर्न लगानी भित्र्याउन सरकारी–निजी साझेदारीलाई प्रोत्साहित गर्नुपर्ने हुन्छ ।
नेपाल अर्को वर्ष सन् २०२६ मा अल्पविकसित मुलुकको स्तरबाट विकासशील हुँदै सन् २०३० सम्म उच्च मध्यम आय भएको तथा सन् २०४२ अर्थात् २०९९ सालसम्ममा विकसित मुलुकको हैसियत हासिल गर्ने लक्ष्यमा पुग्ने सम्भाव्य उपायहरुमध्ये पर्यटन नै दिगो, भरपर्दो र रोजगारप्रधान क्षेत्र हो । बढ्दो यातायात, सञ्चार, सूचना प्रविधि, पूर्वाधार तथा विश्वको बढ्दो आबद्धता र उदीयमान मुलुकहरुको तीव्र आयवृद्धिले गर्दा पर्यटनको विस्तार हुँदै जाने कुरामा शङ्का छैन । छिमेकी मुलुकहरुको द्रूत विकास र बढ्दो समृद्धिको लाभ दिले अत्यन्त भरपर्दो र सम्भावनायुक्त क्षेत्र पर्यटन नै हो भन्ने तथ्य हामीले बिर्सन हुँदैन ।
नेपालको संविधान २०७२ ले पनि पर्यटनलाई आर्थिक विकासको आधारको रुपमा स्वीकार गरेको छ । नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवद्र्धन एवं प्रचारप्रसारमार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आारका रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवशयक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने भन्ने नीतिमा उल्लेख छ । भौगोलिक रूपमा ठूलो वा सानो भए पनि एक सार्वभौम मुलुकले शान्तिपूर्ण रूपमा आफ्ना सम्बन्ध विस्तार गर्न पर्यटन कूटनीतिलाई अन्तरराष्ट्रिय सम्बन्धको महत्वपूर्ण आयाम बनाउनुपर्छ । नेपालको विशिष्ट प्रकृतिको भूराजनीतिक अवस्थितिका कारण खासगरी दुई छिमेक मुलुक भारत र चीनसँगको सम्बन्धलाई कसिलो बनाइराख्नु पर्दछ ।
सरकारले पहिलोपटक आर्थिक कुटनीतिलाई विशेष प्राथमिकता दिँदै २०७७ सालमा एकीकृत परराष्ट्र नीति जारी गरेको थियो । ‘छिमेकी मित्रराष्ट्रहरूको आर्थिक विकास तथा समृद्धिबाट लाभ लिनेगरी सहयोगका नयाँ क्षेत्रको पहिचान एवं साझा हितका विषयमा द्विपक्षीय, त्रिपक्षीय एवं बहुपक्षीय साझेदारी प्रवर्द्धन गर्ने,’ परराष्ट्र नीतिमा भनिएको छ । आर्थिक कूटनीतिको सञ्चालनद्वारा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पु-याउने, लगानी र पर्यटन प्रवर्द्धन, निर्यात विस्तार र आयात व्यवस्थापन गर्दे राष्ट्रिय अर्थतन्त्रको विकासमा सघाउने, वैदेशिक रोजगारीलाई व्यवस्थित एवं मर्यादित तुल्याउने, आप्रवासी नेपालीको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक विकासमा परिचालनलाई नीतिमा प्राथमिकता दिइएको छ ।
भारत र चीनले नेपाली पर्यटन क्षेत्रलाई उच्च महत्व दिएका छन् । उनीहरूको दृष्टिकोण फरक हुन सक्लान् तर उनीहरूको लगावलाई हामीले कसरी उपयोग गर्ने विषय महत्वपूर्ण छ । भारत र चीन पर्यटकीय योगदानमा पहिलो र दोस्रो नम्बरमा रहेका देश रहेको तथ्य मनन गर्दै यसलाई व्यवस्थित रूपमा अघि बढाउने हो भने नेपालले तुलनात्मक लाभ लिन सक्ने क्षेत्र पर्यटन नै हो । तीव्र आर्थिक विकासको प्रतिस्पर्धामा रहेका दुई छिमेकी मुलुकहरुसँगको असल कूटनीतिक सम्बन्धबाट पर्यटन क्षेत्रमा नेपालले थप प्रगति र नवीनता ल्याउन सक्दछ । मित्रराष्ट्र चीन र भारत संसारकै आर्थिक शक्तिका रूपमा रूपान्तरित भइरहेका छन् । चीन र भारतको जनसंख्या सारा संसारको जनसङ्ख्याको एक तिहाइभन्दा बढी छ र त्यसमा बङ्गलादेश र पाकिस्तानको समेत मिसाएर हेर्दा त्यो पूरा विश्वको जनसङ्ख्याको आधाआधी हुन जान्छ । दुवै देशका लागि नेपाल धार्मिक तथा पर्यापर्यटनको मुख्य गन्तव्य बन्नसक्छ ।
नेपाल र भारतमा हिन्दू र बौद्ध धर्मावलम्बीप्रतिको समान दृष्टिकोणका कारण सांस्कृतिक समानतालाई बल मिलेको छ । बुद्धको जन्मस्थान नेपालको लुम्बिनी र ज्ञान प्राप्त गरेको भारतको बोधगया एवं सारनाथलाई पर्यटकीय गन्तव्यका रूपमा एकाकार गर्ने प्रस्ताव भारतले धेरै पटक गरिसकेको छ । चीन बौद्ध धर्मावलम्बीको बाहुल्य भएको राष्ट्र हो । नेपाल शाक्यमुनि गौतम बुद्धको जन्मस्थल भएकाले पनि धार्मिक रूपमा ठूलो सङ्ख्यामा चिनियाँ पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ । चीन संसारमा पर्यटक निर्यात गर्ने नम्बर एक देश हो । चीनले ‘विदेशमा रहेका सबै नागरिक देशका राजदूत हुन्’ भन्ने मान्यतालाई आत्मसात् गरेको शोधकर्ताको निष्कर्ष छ । चीनले नेपाललाई औपचारिक रूपमा सन् २००२ मा मात्र पर्यटन गन्तव्य सूचीमा समावेश गरेको हो । चीन सरकारले गन्तव्य सूचीमा राखेपछि हरेक वर्ष नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि हुँदै आएको छ ।
कूटनीतिक नियोग (दूतावास, कन्सुलेट, स्थायी प्रतिनिधि कार्यालय) ले नेपालका पर्यटन स्थलहरूको अन्तरराष्ट्रियस्तरमा प्रचार–प्रसार गर्ने महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यी नियोगहरूले सरकार, निजी क्षेत्र र प्रवासी नेपाली समुदायसँग सहकार्य गरी नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा उभ्याउन मद्दत गर्छन् । यी नियोगहरुले सांस्कृतिक कूटनीतिमार्फत प्रवद्र्धनात्मक कार्यहरु गर्न सक्छन् । ती देशहरुमा नेपाली कला, संस्कृति, परम्परा र पर्वहरूको अन्तरराष्ट्रिय प्रदर्शन, सांस्कृतिक आदान–प्रदान कार्यक्रमहरू (जस्तै, नेपाली खाना महोत्सव, फिल्म फेस्टिवल, फोटो प्रदर्शनी), प्रवासी नेपाली समुदायसँग सहकार्य गरी नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।
यसैगरी विदेशी पर्यटकलाई सहज बनाउने उद्देश्यले भिसा प्रक्रियालाई सरल बनाउने, अन–एराइभल भिसा, ई–भिसा, र लामो अवधि पर्यटक भिसाका सम्भावनाहरू खोज्ने, पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै व्यावसायिक, धार्मिक र साहसिक भिसाका प्रविधिहरू सुधार गरी भिसा र अध्यागमन नीतिलाई व्यावहारिक बनाउन सकिन्छ । नेपालका प्रमुख नियोगहरूबाट नेपाल पर्यटन बोर्डमार्फत अन्तरराष्ट्रिय प्रवर्द्धन तथा प्रचार अभियानहरू सञ्चालन, परराष्ट्र मन्त्रालयसँगको सहकार्य र समन्वयमा पर्यटन कूटनीति तथा द्विपक्षीय सम्झौता प्रवद्र्धन तथा विदेशस्थित नेपाली दूतावास तथा कन्सुलेटहरू–नेपाली पर्यटन स्थलहरूको प्रचार, सांस्कृतिक कार्यक्रम आयोजना र भिसा सेवाहरू सुधारका कमहरु भइरहेका छन् । आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने देखिन्छ ।
आज विश्वका अधिकांश देशहरुले पर्यटनलाई समृद्धिको मुख्य आधार बनाएका छन् । दक्षिण एसियाकै खासगरी भारत, श्रीलङ्का, माल्दिभ्सलगायतका देशहरुले पर्यटन व्यवसायबाट राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाएका छन् । पर्यटन उद्योगमा प्रत्यक्ष वैदेशिक लगानीको धेरै विकास गर्न सकिने उदाहरण मलेसिया र सिङ्गापुरबाट सिक्न सकिन्छ । नेपालले पनि अबको बाटो आर्थिक समृद्धि भएकाले पर्यटन विकासको सम्भावनाका विविध आयामहरुलाई एकीकृत गरी त्यसै अनुसार नीति निर्माण, योजना तथा कार्यक्रम तर्जुमा र बजेटको व्यवस्था गर्नुपर्छ । पर्यटकको न्यून बसाइ, हरित पर्यटनको न्यून विस्तार, गुणात्मकभन्दा सङ्ख्यात्मक पर्यटकको बढी प्रभाव, पर्याप्त पूवाधारको अभाव, पर्यटक सेवास्तर न्यूनजस्ता यस क्षेत्रका समस्या एवं चुनौतीहरु हुन् । यी चुनौतीहरुलाई समाधान गर्न राष्ट्रिय स्तरमा नीतिगत व्यवस्था, सरकार–निजी क्षेत्र साझेदारी, पूर्वाधार विकासमा जोड दिनु आवश्यक छ भने विदेशमा कूटनीतिक सम्बन्ध विस्तार, पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार, सकारात्मक सन्देश प्रवाह, कुटनीतिक नियोगहरुको भूमिकालाई सशक्त तुल्याउनुपर्ने हुन्छ ।
परराष्ट्र मन्त्रालयबाट विदेशस्थित नियोगहरूमार्फत कार्यान्वयन गर्ने गरी निर्यात प्रवर्द्धन, लगानी सम्मेलन आयोजना, धार्मिक र सांस्कृतिक, पर्यटन प्रवर्द्धन, रोजगारीका नयाँ सम्भावनाहरूको पहिचान, पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम र नेपाली डायस्फोराको परिचालन गर्ने कार्यक्रमहरु आयोजना गर्न सकिन्छ । कूटनीति र अर्थतन्त्र दुवै नबुझेका व्यक्ति नेपालको आर्थिक कूटनीति सम्हाल्न जाँदा त्यसले उचित परिणाम ल्याएको देखिन्न । कुन देशका पर्यटकहरु बढी संख्यामा नेपाल आउँछन्, कुन देशका पर्यटकलाई ल्याउनु बढी फाइदाजनक छ त्यसलाई पनि मध्यनजर गरी बजारीकरणको अनुसन्धानको आधारमा व्यवस्थित प्रचार अभियान सञ्चालन गर्नुपर्छ ।
विदेशस्थित नेपाली दूतावास र कन्सुलेट कार्यालयहरुबाट नेपालको प्रचारप्रसार प्रभावकारी हुनसक्ने भएकाले ती कार्यलयमा कार्यरत राजदूत, वाणिजयदूत वा अन्य कर्मचारीलाई पर्यटनको भूमिकाका कारेमा प्रशिक्षित गराउनुपर्छ । गैरआवासीय नेपाल सङ्घ(एनआरएनए)ले आआफ्ना देशमा रहँदा मातृभूमिका लागि औपचारिक दूतको रुपमा सांस्कृतिक र प्रवद्र्धनात्मक कार्यक्रमहरु आयोजना गर्ने, अन्तर्राष्ट्रिय पर्यटन मेलाहरुमा भाग लिने र पर्यटकहरुलाई नेपाल भ्रमणमा जान प्रेरित गर्न सक्छन् । एनआरएनएको संलग्नताले नेपालको प्राकृतिक सौन्दर्य र समृद्ध सांस्कृतिक सम्पदाको अन्वेषण गर्न थप लगानी आकर्षित गर्न तथा अन्तराष्ट्रिय स्तरमा नेपालको सकारात्मक छवि प्रक्षेपण गर्न मद्दत पुग्दछ ।
(लेखक नेपालका लागि डेनमार्कका वाणिज्यदूत तथा वरिष्ठ पर्यटन व्यवसायी हुनुहुन्छ)
