काङ्ग्रेसभित्र नेतृत्व संकट गहिरिँदै, महाधिवेशन टार्ने प्रयासले विभाजनको जोखिम बढ्दै

नेपाली काङ्ग्रेसमा लामो समयसम्म विचार–विमर्शपछि सही निर्णय गर्ने परम्परा रहेको मानिँदै आएको थियो तर अहिले नेतृत्व तहमा देखिएको द्विविधा र अनिश्चयले पार्टी पुनः दिशाहीन अवस्थातर्फ धकेलिँदै गएको आभास गराएको छ ।

सभापति शेरबहादुर देउवाले केही समयअघि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएपछि धेरैले देउवाको त्यस कदमलाई सकारात्मक रूपमा व्याख्या गरेका थिए । विभिन्न अड्कलबाजीका बीच देउवाको सम्भावित ‘सम्मानजनक बहिर्गमन’ ले ‘पार्टीभित्र सकारात्मक सन्देश प्रवाह गर्ने छ’ भन्ने निष्कष निकालिएको थियो । तर पछिल्ला गतिविधिले देउवा पुनः सक्रिय भूमिकामा फर्किन चाहेको सङ्ंकेत देखिन थालेपछि भने उनीप्रतिको सोच र पार्टीभित्रको समीकरण दुबै फेरिएको छ ।

महाधिवेशन ‘अलमल’मा, गुट र सिन्डिकेट सक्रिय
केन्द्रीय समितिको बैठक महिनौँ अलमल्याइँदा पार्टीले नियमित महाधिवेशनबारे कुनै निर्णय लिन सकेको छैन । पार्टीको भित्री तहमा ‘पूर्वपदाधिकारी समूह’ महाधिवेशन टार्न सक्रिय रहेको आरोप पार्टीभित्रैबाट लगाइएको छ । कार्यवाहक सभापति खड्काबाट पनि उनीहरूकै प्रभावमा परेर निर्णय प्रक्रियामा ढिलाइ गरिरहेको धेरैको बुझाइ छ ।

यसैबीच पार्टी विधानअनुसार विशेष महाधिवेशन माग गर्न आवश्यक ५४५ सदस्यले हस्ताक्षर गरेर बुझाइसकेका छन् । नियमित महाधिवेशन समयमै भएको भए पार्टी नेतृत्व परिवर्तनसँगै आगामी फागुन २१ को निर्वाचनमा सहज रूपमा होमिन सकिने सम्भावना थियो । धेरै काङ्ग्रेसजनका अनुसार त्यो नै पार्टी र समग्र लोकतन्त्रका लागि उत्तम निकास हुने थियो ।
अब नियमित महाधिवेशनको सम्भावना झिनो

विधानअनुसार नियमित महाधिवेशन बोलाउने विकल्प लगभग समाप्तजस्तै बनेको छ । अब विधानअनुसार विशेष महाधिवेशन निश्चित समयभित्र गर्नैपर्ने अवस्था छ । तर पछिल्लो घटनाक्रमलाई अवलोकन गर्दा संस्थापन पक्षले विधानको ‘अपव्याख्या’ गर्दै विशेष महाधिवेशनलाई नै अस्वीकार गर्ने तयारी गरिरहेको आशंका गरिन्छ ।

यदि यस्तो भयो भने अहिले हस्ताक्षर गरिसकेका केही प्रतिनिधि नै संस्थापनतर्फ फर्किन सक्छन्, जसले पार्टी फुट्न सक्ने जोखिमलाई थप गम्भीर मोडमा पुर्याउने छ ।

विशेष महाधिवेशन भयो भने संस्थापन पक्षले यसलाई भाँड्न सम्पूर्ण प्रयास गर्ने बुझिएको छ । र विशेष महाधिवेशनले नयाँ नेतृत्व चुने पनि त्यसलाई वैधता नदिन संस्थापन पक्ष विशेषगरी ‘पूर्वपदाधिकारी सिन्डिकेट’ सक्रिय हुने अनुमान पनि गरिँदै छ ।
तर चुनावअघि नेतृत्व परिवर्तन गर्ने अडान नछोडे काङ्ग्रेस फुट्न सक्ने जोखिम उच्च देखिन्छ । पार्टी फुटेपछि काङ्ग्रेसको नाम र चुनाव चिह्न वर्तमान संस्थापनकै हातमा रहनेछ । तर देउवा नेतृत्वमा नै चुनावमा होमिनु भनेको मतदाताबाट सम्भावित अस्वीकृति भोग्न काङ्ग्रेस तयार हुनुपर्ने पनि हुनसक्ने विश्लेषकहरू बताउँछन् ।

नेतृत्व टार्नेहरूको रणनीति
नियमित महाधिवेशन रोक्न खोजीरहेका नेताहरूमध्ये धेरैजना आफैं चुनाव नलड्ने सूचीमा परेका छन् । उनीहरू देउवाले तयार गर्ने समानुपातिक सूचीमै परे पुग्ने भएकाले कार्यकर्ता र जनधारणासँग उनीहरूलाई खास्सै मतलब नहुने काङ्ग्रेसभित्रै टिप्पणी हुने गरेका छन् ।

शेखर कोइरालाको ‘धर्मसङ्कट’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशनको पक्षमा भए पनि बहुमत सदस्यहरूद्वारा पेलियो भने विशेष महाधिवेशनतिर नै उभिने सङ्केत दिएका छन् । यता डा. शेखर कोइराला दुई धारका बीच उभिएका छन्–

पहिलो, उनी हेर्ने र पर्खने अवस्थामा हुन सक्छन् । सायद उनले देउवाको कुनै ‘ग्रीन सिग्नल’ पाएको पनि हुन सक्छ । अर्को कुरा, कार्यसमितिबाट महाधिवेशन वा विशेष महाधिवेशन—जसमा बहुमतले निर्णय गर्छ—त्यहीँ जाने देखिन्छ ।

डा.कोइरालाको सोच गगनलाई असफल पार्नतर्फ लागेको अनुमान गर्न गाह्रो छैन, किनकि उनको दोहोरो भूमिकाले पनि त्यही सङ्केत गर्दछ ।
सबैले बुझेको तर निर्णयको तहमा पुग्न नसकिएको कुरा भनेको ‘यथास्थितिमा अहिलेकै नेतृत्वलाई स्वीकार गरेर चुनावमा जानु भनेको न त काङ्ग्रेस पार्टीको दीर्घकालीन हितमा छ, न त लोकतन्त्रको । यथास्थितिमा चुनावमा जानु भनेको आत्मघाती गोल गर्नुजस्तै घातक हुन सक्छ ।

इतिहासको पुनरावृत्ति?
अहिलेकोे परिस्थिति २०५१ सालमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीचको विवादको पुनरावृत्ति जस्तै देखिएको धेरै जनाको टिप्पणी छ । त्यतिबेला पनि काङ्ग्रेस फुटको सङ्घारमा पुगेको थियो तर अन्ततः दुवैले एकअर्कालाई स्वीकार्दै पार्टीलाई विभाजन हुनबाट जोगाएका थिए । अहिले परिस्थिति, पात्र र समय फरक भए पनि काङ्ग्रेसको आत्मा भने उही रहेको धारणा बलियो बन्दै छ ।

काङ्ग्रेसको आगामी निर्णयले उसकोे भविष्य तय गर्ने
अब काङ्ग्रेसको भविष्य युवा नेताहरू– शेखर, गगन, विश्व र प्रदीपहरूको निर्णयमा निर्भर देखिएको छ । पुराना नेताहरूले त लगभग आफ्नो भूमिका पूरा गरिसकेको र आफ्नो भावी राजनीतिक करियरको चिन्ता नभएकोले तत्कालको लागि जे गर्दा लाभ हुन्छ त्यही गर्न सक्ने भएकोले युवाहरूले नै जिम्मेवारीपूर्वक आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

यस अवस्थामा विशेष महाधिवेशन गरेर काङ्ग्रेसको ‘अस्तित्व’ जोगाउन भगीरथ प्रयास गर्ने वा पुनः देउवाकै नेतृत्व स्वीकार गरेर काङ्ग्रेस पार्टीलाई ‘गतिहीन, दिशाहीन र स्पन्दनविहीन बनाउने’ भन्ने यक्ष प्रश्नको जवाफ भोलि पार्टीको नेतृत्व गर्छु भन्ने समूहले खोज्ने हो । पार्टी कुनै व्यक्तिविशेषको सति गए पनि देशले निकास पाउनु पर्छ भन्ने कुरामा सबै सहमत हुन जरुरी छ ।

र, भोलि हुने चुनावमा मतदाताले नेपाली काङ्ग्रेस पार्टीलाई फेरि किन मत दिने भन्ने कुराको जवाफ पनि गम्भीरतापूर्वक खोजिनु पर्छ । यस प्रश्नको उत्तरले नै नेपाली काङ्ग्रेस पार्टीको भाग्य र भविष्य निर्धारण गर्ने छ ।

 

सम्बन्धित समाचार