सङ्घसंस्थामा अनियमितता बढेको गुनासोपछि काठमाडौँ प्रशासनले छानबिन थाल्यो

जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएका सङ्घसंस्थाका पदाधिकारीहरूले आर्थिक तथा प्रशासनिक अनियमितता गरेको गुनासो बढेपछि छानबिन थालिएको छ ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता खिमराज भूसालले अनियमितताको गुनासो बढेपछि छानबिन थालिएको बताउनुभयो ।

उहाँका अनुसार हाल काठमाडौँमा दर्ता भएका केही सङ्घसंस्थामा विधान विपरीतका गतिविधि हुने गरेको, कार्यसमितिले मनोमानी ढङ्गबाट कार्य गरेको, आर्थिक अनियमितता हुने गरेकोलगायत विषयमा पटकपटक गुनासा आएका छन् । ती गुनासा तथा उजुरी सम्बोधन गर्न समिति बनाएरै छानबिन थालिएको छ ।

प्रवक्ता भूसालले गुनासा सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको र समितिले काम थालिसकेको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार