आर्थिक-सामाजिक सुधारविना परिवर्तन असम्भव : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा राजनीतिक परिवर्तन भइरहे पनि जनताको अर्थिक तथा समाजिक सुधार नभएकाले पटकपटक समस्या आइरहेको बताउनुएको छ ।

शनिबार जनकपुरमा दलित, पिछडावर्ग, थारू आदिवासी र अल्पसङ्ख्यक (डोटिम) परिसङ्घको धनुषा जिल्लास्तरीय बृहत् अन्तरक्रियामा उहाँले आर्थिक, सामाजिक परिवर्तनविना राजनीतिक परिवर्तनले मात्र मुलुक समृद्ध हुन नसक्ने धारणा राख्नुभयो ।

अध्यक्ष यादवले अबको क्रान्ति आर्थिक र सामाजिक रुपान्तरणका लागि हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि डोटिम परिसङ्घ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“समाजको पिँधमा रहेका वर्ग र समुदायको अवस्थामा परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको कुनै अर्थ नहुने रहेछ । समाजमा रहेको विकृति विसङ्गतिको अन्त्य र आर्थिक सामाजिक रुपान्तरणले मात्रै लोकतन्त्रलाई बलियो बनाउँछ”, उहाँको भनाइ थियो ।

उहाँले दलित, पिछडावर्ग, अल्पसङ्ख्यकहरु छुट्टाछुट्टै लडेर समानताको अधिकार पाउन नसक्ने भन्दै एकजुट भएर लड्नका लागि अपिल गर्नुभयो ।

डोटिम परिसङ्घका केन्द्रीय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा भएको कार्यक्रममा परिसङ्घका सल्लाहकार डा पिके ठाकुरले डोटिम स्थापनाको उद्देश्य र आगामी कार्यदिशाबारे आफ्नो विचार प्रस्तुत गरेको थियो ।

सम्बन्धित समाचार