नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव लेखराज भट्टले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन विचार र नेतृत्व निर्माण गर्ने निर्णायक मञ्च हुने स्पष्ट गर्नुभएको छ ।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सचिव भट्टले महाधिवेशन तयारी तीव्र रुपमा भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार मञ्च, खाद्य तथा प्रचार व्यवस्थापन समितिले आ–आफ्नो प्रगति विवरण पेस गरिसकेका छन् । “तयारी लगभग पूरा भइसकेको छ, बाँकी रहेका काम पनि अन्तिम चरणमा पुगेका छन्”, उहाँले बताउनुभयो ।
खाद्य व्यवस्थापनको प्रमुख जिम्मेवारीसमेत सम्हालिरहनुभएका सचिव भट्टका अनुसार सयौँ प्रतिनिधि तथा सहभागीलाई सेवासुविधा उपलब्ध गराउने तयारी निरन्तर अघि बढिरहेको छ । नेतृत्वप्रति आकाङ्क्षा र इच्छा महाधिवेशनको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उहाँले यही प्रक्रियाबाट पार्टीको भावी दिशा र नेतृत्व तय हुने स्पष्ट पार्नुभयो ।
हालै सम्पन्न विधान महाधिवेशनले राष्ट्रका भावी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदका लागि केपी शर्मा ओलीलाई नै अनुमोदन गरिसकेको तथ्य स्मरण गराउँदै सचिव भट्टले विचार र सिद्धान्तका आधारमा नेतृत्व चयन हुने बताउनुभयो ।
साथै, देशले भोगेको जेनजी आन्दोलनको गम्भीर समीक्षा आवश्यक रहेको उहाँको भनाइ थियो । “उद्देश्य, लक्ष्य बुझ्न आवश्यक छ, ऐतिहासिक रूपमा सही मूल्याङ्कन हुनुपर्छ”, सचिव भट्टले भन्नुभयो ।
पार्टीभित्र पदका लागि आकाङ्क्षा बढ्नु स्वाभाविक भएको उल्लेख गर्दै सचिव भट्टले महाधिवेशन मूलतः विचार, नीति र नेतृत्व निर्माणको प्रक्रिया भएको बताउनुभयो । अहिलेको चुनौतीपूर्ण परिस्थितिमा जोखिम उठाउनसक्ने, दृढ र स्पष्ट नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा अध्यक्ष ओलीले राष्ट्रहितमा ऐतिहासिक दृढता देखाउनुभएको उल्लेख गर्दै सचिव भट्टले त्यस समयमा चुच्चे नक्सा सार्वजनिक गर्दै राष्ट्रिय हितको पक्षमा सशक्त अडान लिनसक्ने नेतृत्व ओली नै भएको बताउनुभयो ।
पार्टीभित्र पुस्तान्तरण क्रमशः अघि बढिरहेको जानकारी गराउँदै उहाँले ‘थ्री–इन–वान’ अवधारणाअनुसार युवा, प्रौढ र वरिष्ठ पुस्ताको सन्तुलित संयोजनमा सङ्गठन अघि बढेको बताउनुभयो ।
तेत्तीस प्रतिशत महिलाको प्रतिनिधित्व तथा ४० वर्षमुनिका युवाको अनिवार्य सहभागितालाई उहाँले सकारात्मक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो ।
पार्टीभित्र एकता, सहमति तथा स्वस्थ प्रतिस्पर्धाको आवश्यकता दोहो¥याउँदै सचिव भट्टले कतिपय ठाउँमा अस्वस्थ अवस्था देखिएको स्वीकार गर्नुभयो । विचारलाई व्यवस्थित रूपमा अघि बढाउन नेतृत्वबाट सहमतिको प्रयास भइरहेको र सहमति असम्भव भए लोकतान्त्रिक तरिकाले निर्वाचनमार्फत निर्णय हुने उहाँले बताउनुभयो ।
संसद् पुनःस्थापना हुनुपर्ने अडान एमालेको स्पष्ट धारणा रहेको उल्लेख गर्दै उहाँले एमाले कहिल्यै समस्याबाट नभाग्ने र नडराउने पार्टी भएको बताउनुभयो ।
आगामी महाधिवेशनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई उत्पादन, विकास र समाजवादतर्फको यात्रासँग जोडेर नयाँ दिशानिर्देश गर्ने विश्वास व्यक्त गर्दै सचिव भट्टले विकसित मुलुकमा भौतिक समृद्धि भए पनि जनसन्तुष्टि नदेखिएको उदाहरण प्रस्तुत गर्नुभयो ।
उहाँले पार्टी एकताबद्ध भई अध्यक्ष ओलीको नेतृत्वमा महाधिवेशनमा अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

