

जेनजी पुस्ताको रचनात्मक विद्रोहले नेपाली राजनीतिमा नयाँ बहस जन्माइरहेका बेला नेकपा (एमाले) भने पुरानै शैलीमा अडिग देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनअघि नै “छलफल हुँदैन, म बोल्छु र महाधिवेशन सकिन्छ” भन्ने अभिव्यक्तिले एमालेभित्रको लोकतान्त्रिक अभ्यास कति संकुचित भइसकेको छ भन्ने प्रष्ट संकेत गरेको छ।
महाधिवेशन विचार, नीति र नेतृत्वको परीक्षण गर्ने थलो हुनुपर्नेमा यो अधिवेशन ओलीको जयजयकार गर्ने औपचारिक कार्यक्रममा सीमित हुने संकेत देखिएको छ। त्यसैले यसलाई महाधिवेशन भन्नु नै अप्ठ्यारो भइसकेको छ। बरु यो ‘पञ्च भेला’ जस्तै देखिन थालेको छ, जहाँ नेता बोल्छन् र कार्यकर्ता ताली बजाउँछन्।
कार्यकर्ता अपमान र भयको राजनीति
महाधिवेशनअगावै पार्टीभित्र भयको वातावरण सिर्जना गरिएको छ। फरक मत राख्नेहरूलाई तर्साइँदैछ, अपमानित गरिँदैछ। भीम रावलमाथि देखिएको व्यवहारले ४० को दशकको टंक कार्की शैलीलाई सम्झाएको छ। यस्तो वातावरणमा स्वतन्त्र बहस, आलोचना वा वैकल्पिक नेतृत्वको कल्पना गर्न सकिँदैन।
ओली पुनः सर्वेसर्वा बन्ने लगभग सुनिश्चिताले कार्यकर्तालाई मताधिकार होइन, केवल उपस्थितिको भूमिका मात्र दिएको छ। यसरी तर्साइएको र निर्देशित अधिवेशनले लोकतान्त्रिक अभ्यासलाई थप कमजोर बनाउने निश्चित देखिन्छ।
अनुशासन कि दासत्व ?
एमालेभित्र अनुशासन र दासत्वलाई उस्तै अर्थमा बुझ्ने प्रवृत्ति बलियो बनेको छ। अनुशासन पार्टीका सिद्धान्तभित्र रहनु हो भने दासत्व नेताको जयजयकार गर्नु हो। तर आज एमालेको वास्तविकता दासत्वतर्फ ढल्किएको देखिन्छ। कार्यकर्तालाई प्रश्न गर्ने होइन, आदेश पालक बनाइएको छ।
महाधिवेशन भनेको अनुशासन र स्वतन्त्रताको संगम हुनुपर्ने हो तर अहिले कार्यकर्तालाई ‘पिँजडाभित्रका चराहरू’ झैँ बनाइएको छ, जसले सिकाइएको कुरा मात्र बोल्न सक्छन्।
महाधिवेशनको सान्दर्भिकतामाथि प्रश्न
राजनीतिक दलले महाधिवेशन किन गर्छन् ? यसको मुख्य उद्देश्य नेतृत्वको परीक्षण, नयाँ विचारको विकास र आगामी रणनीति तय गर्नु हो। समाज गतिशील छ, चुनौतीहरू बदलिँदैछन्, त्यसका लागि नयाँ सोच आवश्यक हुन्छ। तर एमालेको यो महाधिवेशन न त नेतृत्वमाथि प्रश्न उठाउने छ, न त नीतिगत बहस गर्ने नै छ । अहिले जे छ, त्यही निरन्तरताका लागि मात्रै महाधिवेशन चाहिने हो भने महाधिवेशनको औचित्य नै समाप्त हुने छ ।
युथ भोलेन्टियर र मण्डले मानसिकता
महाधिवेशनअघि ओलीले ‘युथ भोलेन्टियर’ नामको शक्ति निर्माण गरेका छन्, जुन नयाँ पुस्तासँग संवाद गर्न होइन, विरोध दबाउन लक्षित देखिन्छ। यो फरक नामको मण्डले शक्ति हो, जसको प्रयोग महाधिवेशनमा असहमतिको स्वर दबाउन गरिने आशंका छ।
ओलीले विगतदेखि नै आन्दोलन र विद्रोहलाई खिसिट्युरी गर्दै आएका छन्। जनयुद्धदेखि लिएर आजको जेनजी विद्रोहसम्म सबैलाई षड्यन्त्रको जामा ओढाइँदैछ।
लोकप्रियता सकिँदै, भ्रम बाँकी
समाजमा ओलीको लोकप्रियता तीव्र रूपमा घटिरहेको छ। २३ र २४ भदौको जेन–जी विद्रोहपछि उनको राजनीतिक औचित्यमाथि गम्भीर प्रश्न उठिसकेको छ। तर पार्टीभित्रको घेराबन्दीले उनलाई अझै आफू शक्तिशाली भएको भ्रममा राखेको छ।
पार्टीभित्र उभिनु र समाजमा उभिनु फरक कुरा हो। निश्चित दासहरूको भीडमा उभिन सक्नु राजनीतिक वैधता होइन। समाजसँगको सम्बन्ध कमजोर भएपछि पार्टीभित्रको जित पनि अर्थहीन बन्छ।
रूपान्तरणको अवसर गुम्दै
जेनजी विद्रोहले दलहरूभित्र रूपान्तरणको माग गरेको थियो। एमालेका लागि यो आत्मसमीक्षा र नयाँ बाटो रोज्ने अवसर हुन सक्थ्यो। तर ओलीतन्त्रले त्यो अवसरलाई पनि बन्द पिँजडाभित्रै थुनेको छ।
ओलीबिनाको महाधिवेशनले मात्रै एमालेमा वास्तविक बहस र रूपान्तरणको सम्भावना खोल्थ्यो तर पार्टीले फेरि पनि पुरानै नेतृत्व, पुरानै शैली र पुरानै सोच रोजेको देखिन्छ। यसरी हेर्दा, यो महाधिवेशन होइन, ओलीतन्त्रको औपचारिक अनुमोदन मात्र जस्तो देखिएको छ । जेनजी विद्रोहले माग गरेको लोकतान्त्रिक रूपान्तरण एमालेको बन्द पिँजडाभित्र अझै कैद नै रहने देखिन्छ।
