सनद अधिकारी
नारायणगढ (चितवन), ५ पुस ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ ।
कारागारबाट रिहा भएपछि पहिलोपटक सार्वजनिक रूपमा चितवनको भरतपुरस्थित चौविसकोठीमा आफ्ना कार्यकर्ता र शुभेच्छुकसँग सम्बोधन गर्दै उहाँले जेनजी देखाएको सपना पूरा गर्ने हकमा तथा निर्वाचन सम्पन्न गर्ने हकमा दृढ रूपमा उभिने आफ्नो प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “निर्वाचन अघि जेनजीको रगतले पोतिएको र जेनजीको ढलेको शरीरमा उभिएको सरकारले जेनजीको सपना पूरा गर्ने हिम्मत र क्षमता देखाओस् । रास्वपा सरकारसँग जेनजी माग पूरा गर्ने हकमा र निर्वाचन सम्पन्न गर्ने हकमा सधैं खडा हुनेछौं ।”
उहाँले सरकारलाई खुट्टा नकमाउन आग्रह गर्दै भन्नुभयो, “ यो सरकारलाई जनताको साथ छ । जेनजीको माग र जनताको मुद्दामा, विशेषगरी सुशासनको मामलामा सरकारले सिधै अगाडि बढ्नु पर्नेछ । रास्वपा सरकारको साथमा छ । रास्वपा सरकारसँग जेनजीको माग पुरा गर्ने हकमा र निर्वाचन सम्पन्न गर्ने हकमा सतिसाल भएर खडा हुनेछ । ”
उहाँले चौविसकोठीमा उपस्थित हजारौं कार्यकर्ता तथा शुभेच्छुकबीच सम्बोधन गर्दै भन्नुभयो, “मेरो व्यक्तिगत माग केही छैन । आज म यति मात्र भन्न चाहन्छु कि यो सरकारलाई जेनजीको मागमा जेनजी जेको लागि ले बलिदानी दिएको थियो त्यसमा अडिक भएर बस्नुस । हामी साथ दिन्छौं । सुशासनका लागि जेनजी भाइ–बहिनीहरूले रगत बगाएका छन्, आमाहरूले सन्तान चढाएका छन्, त्यसको ख्याल–ख्याल गर्न पाइन्न ।”
उहाँले देश अहिले जटिल परिस्थितिमा उभिएको हुँदा सबैले संयमित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । आवेग वा उत्तेजनामा काम गरेर केही हासिल नहुने उहाँको भनाइ थियो । “प्रतिशोधपूर्ण राजनीति मबाट हुनेछैन । म लोकतन्त्रमा विश्वास गर्छु र जिम्मेवार भएर अघि बढ्नेछु,” उहाँले थप्नुभयो ।
गत गदौ २३–२४ गतेका घटनालाई स्मरण गर्दै लामिछानेले भन्नुभयो “२३ गतेको नरसंहार नहुँदो हो भने २४ गतेको घटना नहुने थियो । २४ गते मात्र दोषारोपण हुने अवस्था सिर्जना भएको छ । अघिल्लो दिन बालबालिकामाथि गोली नचलाइएको भए २४ गते त्यस्तो घटना हुने थिएन । केही घुसपेठ भए होला । घरघरबट २३ गते मार्नेका विरुद्ध पक्षका व्यक्तिहरू ज्वाला लिएर निस्केका हुन् । २४ गते जनआन्दोलन भएको हो ।”
उहाँले निर्वाचनमा विवेकपूर्वक भोट प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो र भन्नुभयो, “कि मलाई जिरो पार्नुस कि यिनलाई जिरो पार्नुस।” उहाँले राजनिति केवल एक चुनावका लागि नभई सम्पूर्ण पुस्ताको भविष्यका लागि रहेको उल्लेख गर्दै थप्नुभयो, “मिल्ने कुरा केवल एक चुनावका लागि होइन । म राजनितिमा एउटा चुनावका लागि आएको छैन, म एउटा पुस्ताको भविष्यका लागि आएको हुँ । सिंगो पुस्ताको भविष्य सुनिश्चित नभएसम्म मिल्ने भए मिलौं, नभए नमिलौं ।”
सभापति लामिछानेले सो अवसरमा शहिदका आमासँग भेट्ने र शहिदको सपना साकार पार्ने आफ्नो प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । (रासस)
