

सञ्चारकर्मी राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच खत्री औपचारिक रूपमा रास्वपामा आबद्ध भएका हुन्।
पार्टी प्रवेशपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खत्रीले आफू कुनै नेताको पछि लाग्ने ‘झोले’ बन्न नभई विवेक प्रयोग गर्ने जिम्मेवार कार्यकर्ता बन्न राजनीतिमा प्रवेश गरेको स्पष्ट पारे।
उनले ‘झोले’ को परिभाषा स्पष्ट पार्दै भने, ‘झोले भनेको विचारलाई बन्धकी राखेर ‘हो’ मा ‘हो’ मात्र मिलाउने व्यक्ति हो। तर कार्यकर्ताको आफ्नै विचार हुन्छ, उसले विवेकको प्रयोग गर्छ। म झोले बन्न होइन, कार्यकर्ता बन्न रास्वपामा आएको हुँ।’
विगत २० वर्षदेखि पत्रकारितामा सक्रिय रहेका खत्रीले बुधबारदेखि आफ्नो पेसागत पत्रकारिता यात्रालाई स्थगन गर्दै औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गरेको घोषणा गरे। पत्रकारितामा रहँदा आफूले सधैँ भुइँमान्छेको आवाज उठाएको र सत्तालाई प्रश्न गरेको स्मरण गर्दै उनले अब ती मुद्दालाई राजनीतिक मञ्चबाट संस्थागत रूपमा अघि बढाउने बताए।
‘मैले पत्रकारिता गर्दा कहिल्यै कुनै दलको झोला बोकिनँ,’ खत्रीले भने, ‘तर आज म गर्वका साथ रास्वपाको साधारण सदस्य बनेर झोला बोक्दैछु।’
मुलुकको समसामयिक राजनीतिलाई महाभारतको युद्धसँग तुलना गर्दै खत्रीले अहिले देश कौरव र पाण्डव पक्षबीच ध्रुवीकृत भइरहेको टिप्पणी गरे। सत्य र न्यायको पक्षमा उभिनुपर्ने नैतिक दायित्व महसुस गरेपछि आफू रास्वपामा आएको उनको भनाइ छ।
‘महाभारतमा कौरव र पाण्डवको युद्ध हुँदा को कता लाग्ने भन्ने धर्मसंकट थियो। अहिलेको राजनीतिमा पनि त्यस्तै अवस्था छ,’ उनले भने, ‘पापको पक्षमा लाग्नु अधर्म हो। मलाई लाग्यो, वैकल्पिक राजनीतिको केन्द्रविन्दु रास्वपा हो र यो नै अहिलेको सन्दर्भमा पाण्डव पक्ष हो। त्यसैले सत्यको पक्षमा वकालत गर्न म यहाँ आएको हुँ।’
काठमाडौं क्षेत्र नम्बर ४ बाट आगामी निर्वाचनमा उम्मेदवारी दिने चर्चाबारे सोधिएको प्रश्नमा खत्रीले आफू व्यक्तिगत चाहनाभन्दा संस्थागत निर्णयमा विश्वास गर्ने बताए। ‘म यो संस्थामा आबद्ध भइसकेपछि टिमवर्कको कुरा हुन्छ। मेरो व्यक्तिगत चाहना होइन, पार्टीको आवश्यकता र निर्णय सर्वोपरि हुन्छ’ उनले स्पष्ट पारे।
खत्रीले आफू काठमाडौं–४ कै मतदाता रहेको जानकारी दिँदै विगतमा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मतदान गरेको स्वीकार गरे। तर अहिलेको राजनीतिक परिस्थिति परिवर्तन भइसकेको सङ्केत गर्दै उनले अब पार्टीले जहाँ जिम्मेवारी दिन्छ, त्यहीँ इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘म त्यही क्षेत्रको मतदाता हुँ। तर अब राजनीतिमा आइसकेपछि पार्टीले जहाँ खटाउँछ, त्यहीँ जिम्मेवारी पूरा गर्छु,’ उनले भने।
२००७ सालदेखि भएका राजनीतिक परिवर्तनहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गर्दै खत्रीले उद्योग-कलकारखाना बन्द हुनु, बेरोजगारी बढ्नु र राज्य कमजोर हुँदै जानु चिन्ताको विषय बनेको बताए। अबको राजनीतिक निकास रास्वपाबाट मात्र सम्भव हुने उनको दाबी छ।

