नवकान्तिपुर संवाददाता
भक्तपुर, ११ पुस ।


नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशका राजनीतिक दलहरूले आफ्नो स्वार्थ त्यागेर देश र जनताको लागि काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिले शुक्रबार नगरकोटमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले पार्टी कार्यकर्ताहरूले मनबाटै सेवा गर्ने वाचा गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले देखावटी, बनावटी र प्रचारमुखी राजनीतिभित्र स्वार्थ लुक्ने टिप्पणी गर्दै देशका आम युवाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषयमा गहन जानकारी राख्दै देशका लागि जुट्नुपर्ने आवश्यकता बताउनुभयो ।
नेमकिपा अध्यक्ष बिजुक्छेँले नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी जस्ता मुख्यधारका दलहरूले देश र जनताको हितलाई उच्च प्राथमिकता राखेर अगाडि बढ्नुपर्ने बताउँदै नयाँ पुस्तालाई प्रयोग गरेर देश विरुद्ध लाग्ने तत्व सक्रिय हुन सक्नेतर्फ सबै चनाखो हुनुपर्ने बताउनुभयो ।
उहाँले देशका विभिन्न स्थानमा सक्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) हरूले साम्राज्यवादलाई बलियो बनाउने कार्य गरिरहेको आरोप लगाउँदै यस्ता संस्था निषेध गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले सचिव सुवालले नेपाली राजनीतिक इतिहासबारे जानकारी गराउँदै विदेशी हस्तक्षेप विरुद्ध स्पष्ट दृष्टिकोण बनाएर देश र जनताको हित सुरक्षित गर्न सबै दल लाग्नुपर्ने बताउनुभयो ।
पार्टीका सहसंयोजक माधवकुमार नेपालले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेपाली कम्युनिष्ट पार्टीको राजनीतिक दर्शनमा समाजवादी कार्यक्रम प्रष्ट रहेकाले जनताको भरोसा तथा विश्वास बढेको बताउनुभयो ।
विचार, सिद्धान्त मिलेका दलहरू एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने जानकारी दिँदै राजनीतिक दलहरूको परीक्षा सुरु भएकाले पार्टीलाई बलियो बनाउन सङ्गठन सुदृढीकरणमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साका जिल्लास्तरीय नेता जयप्रकाश थारू नेतृत्वको टोलीले सो पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।

