

नेपालको राजनीतिको पछिल्लो विकासक्रममा एउटा सकारात्मक संकेत देखिएको छ- रवि लामिछाने र बालेन शाहले आगामी निर्वाचनमा मिलेर अगाडि बढ्ने निर्णय गरेका छन् । प्रचुर सम्भावना बोकेका यी दुई व्यक्तिको सहकार्यको समाचारले धेरै नेपालीको मन प्रफुल्ल बनेको हुनसक्छ ।
किनभने जेन्जी आन्दोलनपछि वैकल्पिक राजनीतिप्रति आशा गरिरहेका लाखौँ युवाका लागि यो निर्णय स्वाभाविक रूपमा स्वागतयोग्य छ । यो सहकार्य केवल दुई व्यक्तिको चुनावी तालमेल मात्र होइन, पुरानो राजनीतिक संस्कारलाई चुनौती दिने सम्भावित आधार पनि हो । यही अर्थमा पनि यस सहकार्यको निर्णय ऐतिहासिक महत्वको पनि छ ।
तर यही आशासँगै एउटा गम्भीर चिन्ता पनि जोडिएको छ- कतै फेरि ‘जुँगाको लडाइँ’ हुने त होइन भनेर !
अर्थात्, चुनाव नजिकिँदै जाँदा व्यक्तिगत अहंकार, सार्वजनिक आरोप–प्रत्यारोप र ‘को बढी इमान्दार र को होइन’ भन्ने बहसले यो सहकार्य टुट्ने अवस्थामा पनि पुग्न सक्छ । कान भर्नेको कमी छैन यो देशमा l स्वार्थ समूहले फुटाउने खेल पनि खेल्न सक्छन् तर यस्तो अवस्था कहिल्यै आउन दिनुहुन्न । पहिलो जित यही हुनेछ ।
इतिहासको चेतावनी : विभाजनको फाइदा सधैँ पुरानाले उठाएका छन्
नेपालको राजनीतिक इतिहास हेर्दा एउटा साझा सत्य देखिन्छ- वैकल्पिक वा सुधारवादी शक्तिहरू आपसमा विभाजित हुँदा त्यसको प्रत्यक्ष लाभ सधैँ पुरानै शक्तिहरूले उठाएका छन् । आज रवि र बालेन मिल्नु सकारात्मक सुरुआत हो तर यो सहकार्य चुनावसम्म मात्र सीमित नभई, परिपक्वता र धैर्यका साथ निरन्तर रहन सक्नुपर्छ । यो नै युगीन आवश्यकता पनि हो ।
यदि चुनावअघि नै एकले अर्कोलाई इमान्दार नभएको, पर्याप्त प्रतिबद्ध नभएको भन्दै आ–आफ्नो बाटो लाग्ने हो भने, त्यसले केवल दुई नेताको राजनीतिक छविलाई मात्र क्षति गर्दैन, जनतामा पलाएको भरोसामाथि नै गहिरो चोट पुर्याउँनेछ । नयाँहरूमाथि पलाएको विश्वासको फूल फुल्नु अघि नै झर्ने छ ।
कुलमानको अनुपस्थिति : ठूलो रिक्तता
यस समीकरणमा सबैभन्दा धेरै महसुस गरिएको कुरा हो- कुलमान घिसिङको अनुपस्थिति । कुलमान केवल एउटा व्यक्ति होइनन्, उनी राज्य संयन्त्रभित्रै रहेर पनि परिणाम दिन सकिन्छ भन्ने विश्वासका प्रतीक पनि हुन् । लोडसेडिङको कालरात्रि अन्त्य गरेर उनले देखाएको उन्नत कार्यशैली आज पनि जनताका लागि सुशासनको मापदण्ड बनेको छ, भरोशाको आधार बनेको छ ।
यदि रवि र बालेनसँग कुलमान मिल्न सकेको भए, त्यो सहकार्य अझै विश्वसनीय, सन्तुलित र व्यापक हुने थियो । अहिलेको अवस्थामा कुलमान यो समीकरणबाहिर देखिनु केवल एउटा व्यक्तिको निर्णयको प्रश्न होइन, नयाँ राजनीतिक सम्भावना खेरजाने जोखिम पनि हो ।
कुलमान एक्लै अपूरो हुने खतरा
कुलमान घिसिङ एक्लै अघि बढे भने उनीसँग लोकप्रियता र नैतिक पूँजी त हुनेछ, तर चुनावी राजनीतिमा आवश्यक संगठनात्मक शक्ति कमजोर हुन सक्छ । यसको अर्थ- एउटा सम्भावना बोकेको व्यक्ति राजनीतिक परिधिबाहिरै सीमित हुन पनि सक्छ । यस जोखिमको निर्मम समीक्षा गरेर निर्णय लिनु कुलमानका लागि पनि हितकर हुनेछ ।
र, यदि रवि–बालेनसँग कुलमान नमिल्ने अवस्थाले नै स्थायित्व पायो भने यसले वैकल्पिक राजनीतिलाई पूर्ण स्वरूप दिन असमर्थ रहने छ । यो अवस्था कसैको व्यक्तिगत हार–जितभन्दा पनि देशकै राजनीतिक भविष्यका लागि घाटा सावित हुनेछ ।
इगोको राजनीति : देशका लागि महँगो पर्ने खेल
रवि, बालेन र कुलमान- यी तीनै पात्रमाथि जनताको अपेक्षा साधारण छैन । यिनीहरूलाई पुरानाभन्दा फरक ठानिएको कारण नै व्यक्तिगत अहंकारभन्दा माथि उठेर काम गर्ने क्षमता हो । यदि व्यक्तिगत इगो, नेतृत्वको वर्चस्व वा श्रेयको होडका कारण यी शक्तिहरू एक ठाउँमा उभिन सकेनन् भने, त्यसको मूल्य देशले चुकाउनुपर्नेछ । त्यस अवस्थामा पुरानै शक्ति फेरि सत्तामा फर्किनेछन् र परिवर्तनको अवसर अर्को अनिश्चित भविष्यतिर धकेलिनेछ।
भोलिको नेपालको लागि सहकार्य अपरिहार्य
आजको यथार्थले स्पष्ट सङ्केत गरेको छ- रवि र बालेनको सहकार्य आवश्यक त छ, तर पर्याप्त छैन। कुलमानको समावेशबिना यो विकल्प अझै अपूरो छ । आजको अवस्थामा यी तीनै शक्तिहरू मिल्नु कुनै भावनात्मक आग्रह होइन, भोलिको नेपालको लागि राजनीतिक अनिवार्यता हो।
सुशासन, पारदर्शिता र कार्यसम्पादनको राजनीति गर्न चाहने हो भने, यो पुस्तागत सहकार्यबाट भाग्ने छुट कसैसँग छैन।
समयको माग : अवसर नचुकाऔँ
रवि र बालेन मिल्नु आशाको सुरुआत हो तर त्यो आशा जुँगाको लडाइँमा बदलियो भने, इतिहासले यो पुस्तालाई पनि माफ गर्ने छैन । कुलमानसहितको व्यापक सहकार्य आज सम्भव भएन भने पनि कम्तीमा संवादको ढोका बन्द हुनु हुँदैन । किनकि अन्ततः कुरा व्यक्तिको होइन- देशको भविष्यको हो । आज एकता भयो भने इतिहास बन्ने मौका छ, नभए, फेरि पनि परिवर्तनको सम्भावना हाम्रो हातबाट फुस्किनेछ।
