रास्वपा वैकल्पिक राजनीतिक शक्ति बन्दै गर्दा उसका चुनौतीहरू

नेपालको राजनीतिमा लामो समयदेखि एउटा गहिरो असन्तोष थियो- पुराना दलहरूबाट अब देशले निकास पाउन सक्नेछैन । यही असन्तोषको गर्भबाट जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय अझ बलियो सम्भावनाका रूपमा उदाइरहेको छ । विशेषतः काठमाडौं महानगरका मेयर बालेन शाह, ऊर्जा क्षेत्रका सुधारक कुलमान घिसिङ र विवेकशील साझा पार्टीजस्ता वैकल्पिक धाराहरू एकै राजनीतिक छातामुनि समाहित हुनुले रास्वपाको कद बढाउने काम मात्र गरेको छैन, नेपाली राजनीतिमा एउटा ऐतिहासिक मोडको संकेत पनि गरेको छ ।

आशाको केन्द्रमा रास्वपा

टिम रास्वपा अहिले आशालाग्दो, विश्वास जगाउने खालको र साँच्चै वैकल्पिक बनेको छ । यस टिममा रहेका रवि, बालेन, कुलमान र विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्ताहरू केवल व्यक्ति मात्र होइनन्, नेपाली समाजको आशाका प्रतीक पनि हुन् । बालेन शाहले स्थानीय तहमा देखाएको निर्णय क्षमता र साहस, कुलमान घिसिङले लोडसेडिङ अन्त्य गरेर राज्य संयन्त्रमा सम्भव हुने सुधारको उदाहरण र विवेकशील साझा पार्टीले अघि सारेको सुशासन र वैकल्पिक राजनीतिक संस्कार- यी सबैको समिश्रणले रास्वपालाई साँच्चै वैकल्पिक पार्टीको रूपमा उभ्याएको छ ।

यही कारण आज आम जनता उत्साहित छन्। ‘अब केही फरक हुन्छ कि ?’ भन्ने प्रश्नमा पहिलोपटक धेरैले ‘पक्कै हुन्छ’ भन्न थालेका छन् । यो नै रास्वपाको पहिलो जित पनि हो ।

रास्वपाको बढ्दो कदसँगै बढ्ने ईर्ष्या प्रतिरोध

जब कुनै नयाँ शक्ति उदाउँछ, त्यसको विरुद्ध पुराना संरचना सक्रिय हुन्छन् । रास्वपाको बढ्दो प्रभावले सबैभन्दा असहज पुराना दलहरू र तिनको छायाँमा बसेर राज्य दोहन गर्दै आएका समूहहरूलाई बनाउने निश्चित छ। खाइपाई आएको भाग खोसिने भएपछि यो समूह चुपचाप सहेर बस्ने छैन र नयाँ शक्तिका विरुद्ध हात धोएर लाग्नेछ ।

अबका दिनमा रास्वपा र यसको नेतृत्वका विरुद्ध सामाजिक सञ्जालमा योजनाबद्ध आक्रमण हुनेछ । अर्ध सत्य, तोडमोड गरिएका सामग्री, चरित्र हत्या, काल्पनिक आरोप- यी सबै हतियार प्रयोग गरिनेछन् । पार्टीभित्र असन्तोष छ भनेर अतिरञ्जित प्रचार गरिनेछ, नेतृत्वबीच दरारको हल्ला फैलाइनेछ र जनतामा भ्रम सिर्जना गर्ने अनेक प्रयास हुनेछन्।

यस्तो अवस्थामा सबैभन्दा ठूलो चुनौती भनेको चुनावसम्म एक ढिक्का भएर, स्पष्ट उद्देश्यसहित गतिशील रहनु हो । बाह्य आक्रमणभन्दा पनि आन्तरिक अविश्वास र अहंकारले आन्दोलनलाई कमजोर बनाउने खतरा सधैं रहन्छ । यसबाट शीर्ष नेतृत्व सचेत र चनाखो हुन जरुरी छ ।

वैकल्पिक राजनीतिलाई सामाजिक अभियान बनाउने भूमिका खेल्ने

रास्वपाको यात्रा केवल दलगत सीमामा सीमित हुनु हुँदैन । अब यो एउटा राष्ट्र निर्माणको महाअभियान बन्नुपर्छ । त्यसका लागि समाजका विभिन्न क्षेत्रमा योगदान दिइरहेका सक्षम र इमानदार व्यक्तिहरूलाई समेट्नु अपरिहार्य छ ।

उद्योगी–व्यवसायी, शिक्षक, प्राध्यापक, कानुन व्यवसायी, चिकित्सक, प्राविधिक, अवकाश प्राप्त तर निष्कलङ्क कर्मचारी- यी सबैसँग खुला संवाद र सहकार्य आवश्यक छ। उनीहरूलाई केवल मतदाता होइन, नीति निर्माणका साझेदारका रूपमा लिन सक्नुपर्छ। यही समावेशी सोचले मात्र वैकल्पिक राजनीति दिगो बन्न सक्छ।

इतिहास निर्माण गर्ने अवसर

रास्वपाका अगाडि आज दुर्लभ अवसर छ । जनता सुन्दै छन्, हेर्दै छन् र अपेक्षा गरिरहेका छन् तर अपेक्षाभन्दा ठूलो परीक्षा पनि यही हो।

यदि पार्टी आन्तरिक एकता, नैतिक बल र स्पष्ट दिशामा अघि बढ्न सक्यो भने यसले नेपाली राजनीतिमा नयाँ इतिहास लेख्न सक्छ । तर, यदि भ्रम, अहंकार र बाह्य उक्साहटमा अल्झियो भने यो अवसर पनि विगतका थुप्रै सम्भावनाजस्तै गुम्न सक्छ ।

त्यसैले आजको यक्ष प्रश्न भनेको रास्वपा केवल एउटा अर्को दलमा सीमित हुने कि साँच्चै नेपाली राजनीतिको वैकल्पिक शक्ति बन्ने भन्ने हो ! नेपाली जनताको आशा, भरोसा र विश्वासको बलियो उदाहरण बन्ने कि ‘उही ड्याङको मुला’ बन्ने भन्ने कुरा रास्वपाका आगामी कदमहरूले निर्धारण गर्नेछन् ।

सम्बन्धित समाचार