सुशासन र सेवा प्रवाह सुदृढीकरण सरकारको प्रमुख लक्ष्य : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभएको छ ।

मोरङको विराटनगर मंगलबार पुग्नुभएका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनुपर्छ भन्ने प्रमुख मान्यताका साथ वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार गृहमन्त्री अर्याल बुधबार हुने एक दिने कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि मंगलबार त्यहाँ पुग्नुभएको हो । मोरङस्थित बुधनगरमा सन् २०२० देखि सञ्चालनमा आएको नेपाल–भारत एकीकृत भन्सार जाँच चौकीको स्थलगत निरीक्षणपछि मन्त्री अर्यालले सो धारणा व्यक्त गर्नुभएको हो ।

अहिलेको सरकारको अर्को प्रमुख कार्यभार भनेको शान्ति सुरक्षाको पूर्ण प्रत्याभूतिसँगै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको उहाँको भनाइ छ ।

शान्ति सुरक्षाको प्रत्याभूतिबिना कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुन नसक्ने बताउँदै मन्त्री अर्यालले गृह प्रशासनले अहिले शान्ति सुरक्षा नै सबै विषयको पहिले शर्त हुने भएकाले त्यसतर्फ सचेत भई आफ्ना रणनीति तय गरेको पनि बताउनुभयो ।

एक सय २९ बिघामा फैलिएको एकीकृत जाँच चौकीमा छुट्टै सुरक्षा फौजको लागि भएको मागका सम्बन्धमा त्यसमा सरकारको ध्यानाकार्षण भएकासमेत उहाँले बताउनुभयो । त्यसका लागि गृहमन्त्रालयले अन्तरमन्त्रालय तथा कार्यालयसँग कुरा गरेर सुरक्षा फौजका लागि प्रयास गरिने उहाँले उल्लेख गर्नुभयो ।

यस्तै, मंगलबारै गृहमन्त्री अर्यालले मोरङको जिल्ला प्रशासन कार्यालयको जेनजी आन्दोलनपछि खरानी भएर पुन:मर्मत गरी सेवा सुचारु गरेको भवनको निरीक्षण गर्नुभयो ।

सो क्रममा प्रजिअ युवराज कट्टेलले आन्दोलनमा जलेका भौतिक संरचनाको जानकारीका साथै मन्त्रालयले प्राथमिकतामा राखेर सेवा दिएका विषयहरूबारे स्पष्ट पार्नुभएको थियो ।

यस्तै, मन्त्री अर्यालले आजै कोभिड–१९ मा नेपाली सेनाले निर्माण गरेको होल्डिङ सेन्टरको समेत निरीक्षण गर्नुभयो । हाल यो होल्डिङ सेन्टर खाली अवस्थामा सेनाको निगरानीमा यतिकै खाली अवस्थामा छ ।

सम्बन्धित समाचार