नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।


सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय समाचार समिति (रासस) का सेवालाई थप व्यावसायिक र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा सोमबार रासस व्यवस्थापनसँगको छलफलमा उहाँले राससलाई देश र जनताको पक्षमा थप क्रियाशील हुन आग्रह गर्नुभयो ।
मन्त्री खरेलले हालको अवस्थामा राससको महत्त्व थप बढेको उल्लेख गर्दै निर्वाचनका पक्षमा माहोल बनाउनेगरी समाचार सामग्री सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले राससले विश्वसनीय र सन्तुलित समाचार सम्प्रेषण गरिरहेकामा प्रशंसा गर्दै आगामी दिनमा अझ नतिजामुखी काम गर्न आग्रह गर्नुभयो ।
मन्त्री खरेलले राससको विकास र थप प्रभावकारिता अभिवृद्धिका लागि सक्रिय एवं जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । “राससले सम्प्रेषण गरिरहेको विश्वसनीय र स्तरीय सामाचार सामग्रीप्रति रासस परिवारलाई धन्यवाद छ”, उहाँले भन्नुभयो ।
रासस व्यवस्थापन पक्षले राससका देश र जनताको हितलाई केन्द्रमा राखेर विद्यमान सेवालाई राष्ट्रिय प्राथमिकता र जनताको सरोकारका मुद्दामा केन्द्रीत गर्ने प्रतिबद्धता जनाएको थियो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले हालको जिम्मेवारीलाई थप विस्तारित र व्यावसायिक बनाइने विश्वास दिलाउनुभयो ।
सञ्चारमन्त्री खरेलसँगको छलफलमा राससका कार्यकारी अध्यक्ष झा, महाप्रबन्धक सन्दीप राई, वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतो र सञ्चालक समिति सदस्य कृष्ण अधिकारीअधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

