

नेपालको राजनीति लामो समयदेखि ईर्ष्या र इगोको दलदलमा फसेको छ। आफू मात्र सही र अरू सबै गलत भन्ने संकुचित मानसिकताले ग्रस्त नेताहरूको वर्चस्वका कारण देश कहिल्यै प्रगति र समृद्धिको बाटोमा गतिशील हुन सकेन। राजनीतिक नेतृत्वले आत्मालोचना गर्ने संस्कार गुमाउँदै जाँदा असफलतालाई स्वीकार्ने साहस पनि हराउँदै गयो, जसको प्रत्यक्ष असर राज्य सञ्चालन र जनजीवनमा परिरहेको छ।
आज नेपाली कांग्रेस, एमाले, माओवादीलगायत ठूला दलहरूमा देखिएको आन्तरिक लफडा कुनै सिद्धान्तको द्वन्द्व होइन, न त विकासको मार्गचित्र वा विकास मोडेलको बहस नै हो। यो त केवल सत्ता, कुर्सी र पदका लागि भइरहेको नाङ्गो संघर्ष हो। अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने प्रवृत्ति यति गहिरो छ कि आफ्नै दलभित्र फरक विचार राख्ने सहकर्मीलाई पनि शत्रुजस्तो व्यवहार गरिन्छ। यस्तो अवस्थामा नयाँ सोच, नयाँ ऊर्जा र नयाँ नेतृत्वलाई स्वागत गर्ने संस्कार राजनीतिक दलहरूको ‘रगतमा नै छैन’ भन्नु अतिशयोक्ति हुँदैन।
तीन दशकभन्दा बढी समय शासन सत्तामा बसेर देशलाई आत्मनिर्भरतिर होइन, मागिखाने अवस्थामा पुर्याउनेहरूले अहिले नयाँ शक्ति उदाउँदा आफ्नो भाग खोसिने डरले रोइलो गर्नुको कुनै तुक छैन। जनताको विश्वास गुमाइसकेपछि पनि कुर्सी छोड्न नचाहने प्रवृत्तिले नै देशलाई आजको अवस्थासम्म ल्याएको हो। तर दुःखको कुरा, यस्ता नेताहरू वरिपरि दास मानसिकता बोकेका मानिसहरूको कमी छैन, जो मालिकले जे भन्यो त्यसमै ‘जय’ भन्नु आफ्नो धर्म ठान्छन्।
यसबीच केही स्वतन्त्र बुद्धिजीवीहरूको मौनता पनि कम दोषी छैन। विवेकशील आवाजहरू चुप लाग्दा भ्रष्ट र अवसरवादी नेताहरूले देशलाई खुलेआम दोहन गरे। अझै पनि आगामी निर्वाचनमा मतदाताले पुरानै अनुहारलाई नै फेरि मत दिँदै जाने हो भने नेपाल लामो समयसम्म यही दुष्चक्रमा फसिरहने कुरामा दुईमत छैन।
अब पुरानाले देश बिगारे भनेर मात्र गुनासो गर्ने होइन, त्यसको विकल्प रोज्न साहस देखाउने बेला आएको छ। आगामी चुनावमा मत परिवर्तन गर्ने हिम्मत गरौँ, नयाँलाई अवसर दिऔँ। नयाँले चमत्कार नै गर्लान् भन्ने ग्यारेन्टी नहोला, तर यति चाहिँ निश्चित छ- पुरानाले जति बिगारे, त्योभन्दा खराब त उनीहरूले गर्ने छैनन्। परिवर्तन जोखिम हो तर स्थायी जडता अझ ठूलो खतरा हो। जडताबाट देश र जनतालाई उन्मुक्ति दिन यसपटक मतदाताले हिम्मत गर्नुपर्छ । यो व्यक्तिगत ईर्ष्याको विषय होइन, सचेत नागरिकको कर्तव्य हो। र, जेनजीहरूको भावनाको सम्मान पनि हो।
