नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ पुस ।


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा पुगी मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गर्नुभएको हो ।
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आउनुभएका घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त हुनुभएको थियो ।
त्यसक्रममा प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीन वटा महत्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा घिसिङलाई बधाई र धन्यवाद दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
“निकै प्रतिकूल अवस्थामा तपाईंले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्काबेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैँ पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ । जनताले मूल्याङ्कन गर्ने छन् ।”
मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गर्नुभएकामा प्रधानमन्त्रीप्रति आभार प्रकट गर्नुभयो । घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता गर्नेसम्बन्धी समझदारी भइसकेको छ । समझदारीअनुसार उहाँ रास्वपाको उपाध्यक्ष बन्ने तय भएको छ ।
दलीय राजनीतिमा सक्रिय भएसँगै मन्त्री घिसिङको सार्वजनिक आलोचना बढेपछि सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले राजीनामा माग्नु भएको थियो ।
घिसिङसँगै प्रधानमन्त्री कार्कीले खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलको पनि राजीनामा माग्नुभएकाे थियाे ।
यस्तो छ राजीनामा पत्र :

