

नेपाली काङ्ग्रेसभित्रका विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको आह्वान गरेसँगै पार्टीपङ्क्ति विभाजित बनेको छ । यस गम्भीर अवस्थामा पनि विशेष महाधिवेशन पक्षधर समूहले उद्घाटन सभापति शेरबहादुर देउवाले नै गर्ने कुरामा दृढ विश्वास व्यक्त गरिरहेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीभित्र आन्तरिक बहस र मतभेद चर्किएको छ । यही सन्दर्भमा आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधरको तर्फबाट बोल्दै नेता जगदीश्वरनरसिंह केसीले सभापति देउवालाई महामन्त्रीहरूले औपचारिक पत्र पठाइसकेको जानकारी दिए ।
उनका अनुसार सभापति देउवा स्वयं उद्घाटन समारोहमा उपस्थित भएर विशेष महाधिवेशनको उद्घाटन गर्नेमा आफूहरू विश्वस्त रहेको जानकारी गराउँदै केसीले अगाडि भने, ‘उहाँ नै उद्घाटन समारोहमा उपस्थित भएर उद्घाटन गर्नुहुने छ ।’
नेता केसीले थपे ‘महामन्त्रीहरूले पत्र दिइसकेको अवस्था छ । उहाँ नै उपस्थित भएर उद्घाटन हुन्छ भन्ने कुरामा हामी विशेष महाधिवेशनका पक्षमा हस्ताक्षरकर्ताहरू विश्वस्त छौँ ।’
विशेष महाधिवेशनको उद्घाटन सत्र पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि ४ बजेसम्म आयोजना हुने तय भएको छ ।
उद्घाटन सत्रमा पार्टीको वर्तमान अवस्था, आन्तरिक लोकतन्त्र, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ ।
पार्टीभित्र देखिएको मतभेदबीच पनि सभापतिको सहभागिताले विशेष महाधिवेशनलाई वैधानिकता र एकताको सन्देश दिने विश्वास विशेष महाधिवेशन पक्षधरहरूले गरेका छन् ।

