नवकान्तिपुर संवाददाता
राजविराज (सप्तरी), २६ पुस ।


पूर्वसांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको शनिबार निधन भएको छ । उहाँको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पचासी वर्षको उमेरमा चौधरीको निधन भएको राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो । चौधरी २०७४ सालको निर्वाचनमा सप्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित उहाँ ऊर्जा, सिँचाइ र जलस्रोत राज्यमन्त्रीसमेत बन्नुभएको थियो । पछिल्लो पटक राष्ट्रिय मुक्ति पार्टीमा उहाँ कार्यकारिणी समितिमा हुनुहुन्थ्यो । चौधरीका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

