नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।


गायक एवं कलाकार प्रशान्त तामाङको ४२ वर्षको उमेरमा आइतबार हृदयाघातका कारण निधन भएको छ । उहाँको निधनसँगै दार्जिलिङवासीलगायत संसारभर रहेका नेपाली भाषी यतिबेला निशब्द छ ।
सन् २००७ मा भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो सिजनको ग्रान्ड फिनालेमा गायक तामाङले नेपाली भाषीबीच लोकप्रिय हुनुभएको थियो । साथै उहाँले गायन क्षेत्रमा मात्रै नभई नेपाली चलचित्रमा समेत आफ्नो अभियनले राम्रो छाप छोड्नु भएको थियो । उहाँको गायनसँगै अभिनयसमेत दर्शकले मन पराएका थिए ।
‘हिम्मत–२’ बाट नेपाली चलचित्रमा पाश्र्वगायकका रुपमा प्रवेश गरेका प्रशान्तले ‘गोर्खा पल्टन’ चलचित्रमा अभिनय गरेर अझै लोकप्रियता कमाउनुभएको थियो । उहाँको अभिनय यात्रा यसै चलचित्रबाट सुरु भएको थियो ।
अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत गायक तामाङ काम गर्दाको क्षण अविस्मरणीय रहेको लेख्दै भावपूर्ण श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।
उहाँका अनुसार सन् २०१० देखि २०११ को समयमा तामाङको स्वरले सजिएको गीत ‘मनसाइली’ मा अभिनय गर्दा निकै अमूल्य पलहरू सँगालेको स्मरण गर्नुभयो । साथै, परदेशी–२ मा उहाँसँगै काम गर्दाका सम्झनाहरू, मुस्कान जीवन्त रहेको बताउनुभयो ।
अभिनेत्री दिपाश्री निरौलाले तामाङलाई भावपूर्वक सम्झँदै पुराना तस्बिर फेसबुकमा सार्वजनिक गर्नुभएको छ । गायन, अभिनय मात्रै नभई तामाङको मित्रवत् व्यवहारको उहाँले प्रशंसा गर्नुभएको छ ।
‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी–२’ मा नारायण रायमाझीको निर्देशनमा तामाङले चलचित्रमा अभिनय गर्नुभएको थियो ।
