‘आगामी चुनावमा कांग्रेसले अन्य पार्टीसँग गठबन्धन गर्नु हुँदैन’

नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले कांग्रेसलाई नातावादबाट टाढा राख्न सकेको खण्डमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बहुमत आउने बताउनुभएको छ ।

भृकुटीमण्डपमा भइरहेको विशेष अधिवेशनलाई सम्बोधन गर्दै नेता रसाइलीले आगामी निर्वाचनका कांग्रेसले कुनै पनि पार्टीसँग गठबन्धन गर्न नहुने उहाँको भनाइ थियो ।

यस्तै नेता बजरङ्ग नेपालीले आत्म समीक्षा, आत्मसम्मान र पुनर्जागरणका लागि विशेष महाधिवेशनमा उपस्थित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस इतिहासले प्रमाणित गरेको पार्टी हो, राणाशासनसँग लडेको पार्टी हो, लोकतन्त्र स्थापना र राजतन्त्रको अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक व्यवस्था स्थापना गरेको पार्टी हो ।” उहाँले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्मरबहादुर पुनले जेनजीको आकाङ्क्षा र पार्टी विधिसम्मत चलाउन पनि विशेष महाधिवेशन गर्नु परेको बताउनुभयो ।

नेता ओमकार श्रेष्ठले भन्नुभयो, “कांग्रेस ब्यूँझिएको छ, आगामी चुनावमा हामीले बहुमत ल्याउने गरी अगाडि बढौँ, कसैलाई निषेध होइन, सबैलाई समावेश गरेर अगाडि बढ्नुपर्छ ।”

अर्का नेता सुरेन्द्र चौधरीले कांग्रेसलाई नयाँ युग चेतनाका साथमा आधुनिकीकरण गर्दै देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित समाचार