नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्राकेस्रा) केलाएर छलफल गरिने बताउनुभएको छ ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबार काठमाडौँमा भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा सङ्कलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कांग्रेसले जनअसन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने उल्लेख गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, “आगामी फागुन २१ गते रूख चिह्नमा मतदान गर्नुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, आगामी दिनमा नदोहोर्याउने सङ्कल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दैछौँ ।”

उहाँले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिकलाई सन्तुष्ट गर्न नसकिएको बताउनुभयो । सरकार परिवर्तनले सत्तामा पुगेकालाई सन्तुष्टि मिलेको भए पनि आमनागरिकले अनुभूति गर्न नसकेको महामन्त्री शर्माको भनाइ थियो ।

उहाँले विशेष महाधिवेशनलाई केवल सङ्गठनात्मक अभ्यास नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताउनुभयो ।

सम्बन्धित समाचार